मालीका अन्तरिम राष्ट्रपति गोइताको हत्या प्रयास 

आफू ‘सुरक्षित र सकुशल’ रहेको राष्ट्रपतिको घोषणा 
बुधबार, साउन ६, २०७८

बामाको । मालीका अन्तरिम राष्ट्रपति कोलोनेल असिमी गोइतामाथि भएको हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै आफू सकुशल रहेको बताएका छन् । राजधानी बामाकोमा टेलिभिजनमा बोल्दै उनले भने, ‘यो आक्रमण मालीमा अस्थिरता चाहने समूहले गराएको र यस्ता समूहले कुनै पनि समय अवाञ्छित क्रियाकलाप गर्नेछन् ।’ गोइताले ओआरटीएम नामक टेलीभिजनमार्फत् भने, ‘नेतृत्वमाथि यस किसिमका हमला हुने गर्छन् तर यसबाट एउटा कुशल राजनीतिज्ञ डराएर पछि हट्ने कुरा हुँदैन ।’   गोइतालाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । 
उनलाई दुई व्यक्तिले आक्रमण गरेको थिए । तर उनी सकुशल रहेको उनको कार्यालयले एएफपीका संवाददातालाई बताएका छन । आक्रमणकारी दुई व्यक्तिमध्ये एक जनासँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिम राष्ट्रपति गोइतालाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा आक्रमण प्रयास भएको हो ।
धार्मिक मामिला मन्त्री मामाडो कोनले एएफपीसँग भने, ‘एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको पुष्टि भएको छ ।’  राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित अन्य एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेका छन् ।  आक्रमण लगत्तै राष्ट्रपति कार्यालयका एक अधिकारीले गोइत ‘सुरक्षित र सकुशल’ रहेको पुष्टि गरेका थिए । गोइतलाई राजधानी बाहिरको एक सैनिक शिबिरमा लगिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । उक्त स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको थियो ।– एएफपी
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार