रामेछापमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु 

मंगलबार, मंसिर ९, २०८२

रामेछाप । रामेछापमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रम औपचारिक रूपमा आजबाट प्रारम्भ भएको छ ।  जिल्ला सदरमुकाम मन्थलीमा मन्थली नगरपालिकाको आयोजनामा मङ्गलवार बिहान प्रभात फेरी गरी अभियान सुरु भएको हो । मन्थलीको मदन भण्डारी चोकबाट सुरु भएको र्‍याली मन्थली बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै वाग्मती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले लैङ्गिक हिंसाविरुद्धको अभियान १६ दिन होइन ३ सय ६५ दिन नै आवश्यक रहेको बताए ।  उनले यस्ता विषय कानुनमा लेखेर मात्र नहुने बताउँदै व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए । यसको व्यवहारिक कार्यान्वयनको लागि हरेक व्यक्ति जिम्मेवार हुनु पर्ने उनको धारणा थियो । मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै बस्नेतले नगरपालिकाले १६ दिन भरि नै विभिन्न कार्यक्रम राखेको जानकारी दिइन् । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति उपप्रमुख प्रेमसागर थापा, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, जनप्रतिनिधिहरू, नागरिक अगुवा, कर्मचारी, सुरक्षाकर्मी लगायतका सहभागिता थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार