गाउँमै उद्यम गर्ने एक दम्पतीको उदाहरणीय प्रयास

सोमबार, मंसिर ८, २०८२

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रीतिका एक दम्पती आफ्नो सीप र श्रमबाट गाउँमा नै उद्यम सिर्जना गर्न निरन्तर लागेका छन् । प्रीतिका गुञ्जनबहादुर सार्की र उनकी पत्नी मिना सार्कीले आफ्नो पुर्खाले गर्दै आएको परम्परागत जुत्ता बनाउने पेसालाई आधुनिकीकरण गर्दै गाउँमा जुत्ता–चप्पल र ब्याग उद्योग सञ्चालन गर्दै आएका छन् ।  गाउँमा नै बसेर केही गरौँला भनेर लागेको यो जोडीले काठमाडौंका उद्योगबाट आउने भन्दा पनि गुणस्तरीय र राम्रो फिनिसिङ सहितको सामान उत्पादन गरिरहेको छ । उद्योग पनि विस्तार भएको छ । अहिले १० वटा मेसिन छन् । उत्पादित सामानको बजार भने समस्या छ । सामान बजारमा जाने हो भने ठुलै परिमाणमा उत्पादन गर्न सक्ने अवस्थामा आफूहरू पुगेको मिना बताउँछिन् । ‘सामान उत्पादन गर्न सकिन्छ, तर बजार खोज्न सकिएन, हामीलाई बजारकै समस्या भयो’, उनले भनिन् ।  अहिले उत्पादित जुत्ता र ब्याग स्थानीय स्तरमा मात्रै बिक्री हुने गरेको उनले बताइन् । सो कारखानामा छालाका पार्टी तथा स्कूल जुत्ताहरू, स्पोर्ट सुज, विभिन्न डिजाइनका लेडिज जुत्ता, चप्पलका साथै ब्याग समेत उत्पादन हुने गर्दछ । २०७५ सालदेखि कारखानाबाट नियमित रूपमा जुत्ता, चप्पल र ब्याग उत्पादन हुँदै आएको छ ।   अहिले कारखानामा परिवारका सदस्यहरूले नै काम गर्दै आएका छन् । गुञ्जसँगै पत्नी मिना पनि डिजाइन र सिलाइको सबै काम गर्छिन् । छोराछोरीले पनि भ्याएको बेलामा काममा सहयोग गर्दै आएका छन् । पर्याप्त बजार हुने हो भने ठूलो स्केलमा उत्पादन पनि गर्न सकिने र अन्यलाई पनि रोजगारी दिन सकिने मिना बताउँछिन् । ‘हामीले बजार नै व्यवस्थापन गर्न सकेनौँ, त्यस कामको लागि सहयोग चाहिएको छ, कम्तीमा रामेछापको सदरमुकाम मन्थली र दोलखाको चरिकोटकाका व्यापारीले मात्रै हाम्रो सामान लिइदिने हो भने भनि हामीलाई ठुलो सहयोग हुन्थ्यो, हामी काठमाडौंको भन्दा अझ कम मूल्यमा त्यहाँको भन्दा गुणस्तरीय सामान दिन सक्छौँ’, उनले भनिन्  ।  एउटा परिवारको मात्र उद्योग बनेको कारखानाको उत्पादनलाई बजारीकरणमा सरोकारवालाले सहयोग र सहजीकरण गरिदिने हो भने उद्योग प्रवर्धनमा सहयोग भई बाहिर जाने पैसा गाउँमा पुग्ने र रोजगारी प्रवर्धनमा पनि सहयोग पुग्ने देखिन्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार