कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध

शनिबार, मंसिर ६, २०८२

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बिरगञ्जबाट काठमाडौंतर्फ औषधि लोड गरी गइरहेको ना ३ ख ३१९२ नम्बरको ट्रक आज बिहान करिब ५ बजेको समयमा ब्रेकफेल भई अनियन्त्रित रुपमा सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय, ठिंगन मकवानपुरले जनाएको छ । दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रमुख प्रहरी निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली खटिएको थियो । प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेका बारा जिल्ला, जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ४० वर्षीय चालक विनोद माझी सकुशल प्रहरी सम्पर्कमा रहेका छन् । ट्रक सडकमै पल्टिएकोले कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध बनेको छ । घटनास्थलमा ट्रक हटाउने कार्य तीव्रगतिमा भइरहेको तथा अतिरिक्त प्रहरी फोर्स समेत परिचालन गरिएको ठिंगन प्रहरीले जनाएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब ८ किलोमिटर उत्तर पर्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुरतचन्द्र बोहराका अनुसार आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया अनुसरण गर्दै सडक सुचारु गर्ने प्रयास जारी राखिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार