विद्यालय बसको ठक्करबाट बालकको मृत्यु

शुक्रबार, मंसिर ५, २०८२

रौतहट । रौतहटमा विद्यालय बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । माधवनारायण नगरपालिका वडा नं. ३ सखुआवामा रहेको ओम एकेडेमीको बसले जयनगरमा शुक्रबार बिहान दुई बर्षीय बालकलाई ठक्कर दिएको हो । गरुडा नगरपालिका वडा नं. १ जयनगर बस्ने रंजन साहका दुई  वर्षका छोरा आदित्य कुमार साहलाई ठक्कर दिएको रौतहट प्रहरीले जनाएको छ । बसको ठक्करबाट  बालक आदित्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णु प्रदिप बस्यालले बताए । उनका अनुसार जयनगरबाट मानपुरतर्फ जाँदै गरेको प्रदेश–३–००१ ख १७२६ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो । इलाका प्रहरी कार्यालय गरुडाले बालकलाई ठक्कर दिने बस नियन्त्रणमा लिएको छ ।  घटनापछि बसका चालक फरार रहेकाले पक्राउ गर्नको लागि खोजी कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको छ । यस दुर्घटनाका बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार