काठमाडौंको फोहोर उठाउन बन्चरेडाँडावासीसँग फेरि ११ बुँदे सहमति

बिहीबार, मंसिर ४, २०८२

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन गर्ने विषयमा बिहीबार ११ बुँदे सहमति भएको छ । फोहोर विसर्जन अवरोध हटाउन सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा दुई दिनसम्म चलेको वार्ताले ११ बुँदे सहमति जुटाएको हो ।  बुधवार र बिहीबार स्थानीयवासी, ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका, काठमाडौं महानगरपालिका, सुरक्षा निकाय र मन्त्रालयका प्रतिनिधिबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको हो । बन्चरेडाँडामा फोहोर व्यवस्थापनका कारण वर्षौंदेखि स्वास्थ्य, वातावरण र दैनिक जीवनमा परेको प्रभावले स्थानीय आक्रोश बढिरहेको थियो । अवरोधका कारण काठमाडौँ उपत्यकामा फोहोरको थुप्रो जम्दै समस्या गम्भीर बन्दै गएपछि सरकारले उच्च प्राथमिकताका साथ छलफल थालेको थियो । वार्ताले ११ बुँदामा सहमति जुटाएपछि स्थानीयले अवरोध हटाउने सहमति जनाएका छन् । ११ बुँदे सहमतिमा स्थानीय नागरिकलाई विगतमा फोहोर व्यवस्थापनका कारण परेको क्षतिबापत तत्काल निर्णय गरी क्षतिपूर्ति प्रदान गर्ने पर्यावरण प्रभाव मूल्यांकन प्रतिवेदन छिटो तयार गर्ने उद्देश्यले परामर्शदाता कम्पनी नियुक्त गरी आवश्यक कार्य प्रारम्भ गर्ने तथा आगामी आर्थिक वर्षदेखि यसका लागि छुट्टै बजेट विनियोजन गरिने सहमति भएको छ । यस्तै २०७८–८० को वर्षामा घर–टहराको क्षति र बाली नष्ट भएकालाई विस्तृत विवरणसहित नजिकैको मापदण्डका आधारमा मूल्यांकन गरी राहत वितरण गर्ने, फोहोर ढल्किएर पोखरी खुलेका स्थानमा जनस्वास्थ्य जोखिम बढेको भन्दै १५ दिनभित्र टोल–टोलमा फिन्स वितरण, रोग नियन्त्रण, लिचेट रोकथाम र कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
यस्तै प्रभावित क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने, काठमाडौँ महानगरपालिकाबाट १ महिनाभित्र औषधि उपचार, प्राथमिक उपचार सामग्री र चिकित्सक सुविधा उपलब्ध गराइनेछ, विद्यालय र शिक्षण संस्थाको भौतिक संरचना निर्माणलाई प्राथमिकता दिने सहमति भएको छ । यस्तै फोहोर व्यवस्थापनले प्रभावित नगरपालिकामा रोजगारी सृजना गरिने, रोजगार अवसर विस्तारका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश गरिने सहमति भएको छ भने काठमाडौं महानगरपालिकाले २ वटा पालिकालाई उपलब्ध गराउँदै आएको ३–३ करोड थप गरी ६–६ करोड उपलब्ध गराउने तथा आगामी आर्थिक वर्षदेखि स्थायी ढाँचामा बजेट अभिवृद्धि गर्ने सहमति भएको छ । यस्तै सडक जीर्ण भएर दुर्घटना तथा मृत्युदर बढेको भन्दै तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाउने, स्थानीय अवरोधका कारण फोहोर थुनिएको अवस्थालाई हटाउन तत्काल कदम चालिने, खेलकुद, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा लगायतका दीर्घकालीन आवश्यकता पहिचान गरी ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाबाट प्रतिनिधि समावेश गरी कार्यदल गठन गरिने, फोहोर साइटमा आवश्यक पर्ने सडक निर्माणका लागि तत्काल बजेट व्यवस्थाको प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
मन्त्री कुलमान घिसिङ र बन्चरेडाँडावासी के भन्छन्
गत महिना बन्चरेडाँडा ल्यान्डफिल साइट भ्रमण गरेर त्यतिबला उत्पन्न अवरोध टुङ्ग्याउने सहमति गरेका सहरी विकासमन्त्री कुलमान घिसिङ फेरि त्यही समस्या बल्झिएपछि सुल्झाउने उपाय खोज्न लागेका थिए ।  कार्तिक १६ गते स्थानीयवासीहरूले मन्त्रीसँग १५ दिनभित्र माग पूरा गराउने कार्ययोजना ल्याउने गरी सहमति गरेका थिए । ‘विगतमा देशमा उज्यालो ल्याउनुभएको भनेर मन्त्रीसँग विश्वास गरेर सहमति भएको हो । तर स्थिति जस्ताको तस्तै भएपछि यहाँका मानिसहरू स्वस्फूर्त मंसिर ३ गतेदेखि फेरि फोहोर लैजान अवरोध भएको हो,’ बन्चरेडाँडाका बासिन्दा शङ्कर घिमिरेले भने ।  ‘हाम्रो मुख्य भनाइ भनेको या त यो क्षेत्र फोहोररहित हुनुपर्‍यो या मानवरहित,’ उनले भने । बन्चरेडाँडा धादिङ र नुवाकोट जिल्लाको सीमामा पर्छ । अहिलेको फेरि बल्झिएको समस्या समाधान गर्न बुधवार सहरी विकास मन्त्रालयले आयोजना गरेको बैठक विफल भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात अनि सहरी विकासमन्त्री कुलमान घिसिङले थोरै विषय मात्र मिल्न बाँकी रहेको प्रतिक्रिया दिए । ‘मिल्न बाँकी’ खास कुरा केही छैन। त्यहाँका स्थानीयवासी केहीको कुनै कुरा होला । त्यसबारे थप छलफल गर्न आज  पनि बैठक डाकिएको छ। सायद आज कुरा मिल्छ,’ उनले भने । ‘भएका सहमतिहरू कार्यान्वयन भइरहेका छन्, कार्यान्वयन हुन्छन्,’ उनले भने । बुधवारको बैठकमा नौवटा बुँदामा सहमतिका विषयवस्तु उल्लेख गरिएको र तिनकै आधारमा बाँकी सहमति हुने उनले आशा प्रकट गरेका छन्। धेरै पटक अवरोध र सहमति भइरहेको सन्दर्भमा सरकार कतै तत्कालका निम्ति समस्या सामसुम मात्र पार्न उद्यत रहेको हो कि भनेर सोधिएको प्रश्नमा घिसिङले आफूहरू दिगो समाधानकै पक्षमा रहेको बताए । ‘सामसाम सुमसुम होइन। आज सहमति गरेर आजै लागु हुने विषय यी होइन। जग्गा अधिग्रहणको विषय छ जसको लागि पहिला वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन हुँदैन,’ उनले भने । उनका अनुसार कति इलाका प्रभावित हुने हो र मुआब्जा केकस्तो हुने भन्ने विषय त्यसैसँग जोडिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार