रामेछापमा ७२ वर्षीया महिलाको हत्या गरी फरार रहेका आरोपी पक्राउ

मंगलबार, मंसिर २, २०८२

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१४ साजेटोलस्थित ७२ वर्षीया भिमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भागेका आरोपीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । गतराति करिब साढे १० बजे स्थानीय युवक २६ वर्षीय दिलीप खड्काले वृद्धा खड्कामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो । घटना भएको करिब दुई घण्टापछि, राति साढे १२ बजेतिर मात्रै प्रहरीलाई जानकारी पुगेपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहानै घटना स्थल पुगेर मुचुल्का संकलन गरेको थियो । मृतक भिमा लक्ष्मी खड्का एक्लै बस्दै आउनुभएको परिवारजनले बताएका छन् । हत्या गरेर फरार रहेका दिलिप विगतमा अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका व्यक्ति भएको प्रहरीले जनाएको थियो । स्थानीयका अनुसार घटना भएको करिब एक घण्टापछि दिलिप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका देखिएपछि उनीहरूबाटै प्रहरीलाई खबर गरिएको हो । रातिको समय, दुरी तथा भौगोलिक जटिलताका कारण घटनास्थलमा प्रहरी पुग्न केही ढिलाइ भएको थियो । यसबीच, फरार अभियुक्तलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायवउपरीक्षक भोला भट्टले पुष्टि गरे । उनका अनुसार फरार दिलीप खड्कालाई दोखाको मेलुङट क्षेत्रबाट पक्राउ गरिएको हो ।  मृतक खड्काको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको प्रहरी भट्टले जानकारी दिए । पक्राउ परेका अभियुक्तमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार