सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । भारतको उत्तरी राज्य बिहारमा सम्पन्न विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको गठबन्धन एनडीएले निर्णायक जित हासिल गरेसँगै समर्थकहरूले खुसियाली मनाइरहेका छन् । राज्यका कुल २४३ सीटमध्ये एनडीएले २०२ सीटमाथि विजय हासिल गरेको छ । विपक्षीहरूको महागठबन्धनले ३५ सीट मात्र ल्याउन सक्यो । मोदीले यो उनको गठबन्धनको जित मात्रै नभई ‘लोकतन्त्रकै जित’ भएको बताएका छन् । सूचीहरूको एउटा विवादास्पद संशोधनका कारण वास्तविक मतदाताहरू बाहिरै रहन सक्ने र बीजेपीलाई त्यसबाट लाभ हुन सक्ने विपक्षी दलको आरोपबीच मतदान भएको थियो । उक्त आरोपको बीजेपी र निर्वाचन आयोगले खण्डन गरेका थिए ।
सर्वाधिक मत खस्यो सूचीहरूको एउटा विवादास्पद संशोधनका कारण वास्तविक मतदाताहरू बाहिरै रहन सक्ने र बीजेपीलाई त्यसबाट लाभ हुन सक्ने विपक्षी दलको आरोपबीच मतदान भएको थियो। उक्त आरोपको बीजेपी र निर्वाचन आयोगले खण्डन गरेका थिए । निर्वाचन आयोगका अनुसार नोभेम्बर ६ र ११ तारिखमा मतदान सम्पन्न भएकामा कीर्तिमान स्तरमा अर्थात् ६६.९१ प्रतिशत मत खसेको थियो । उक्त प्रतिशत बिहारमा सन् १९५१ मा पहिलो पटक मतदान भएयताकै सबैभन्दा उच्च भएको निर्वाचन आयोगले जनाएको छ । मतदानपछि गरिएका थुप्रै जनमत सर्वेक्षणहरूले प्रमुख साझेदारका रूपमा रहेको जनता दल (यूनाइटेड) सहितको बीजेपी नेतृत्वको गठबन्धनले जित हासिल गर्ने देखाएका थिए । ती दुई दलले अहिले बिहारमा शासन गरिरहेका छन्, जहाँ जेडी (यू) का नीतिश कुमार मुख्यमन्त्री रहेका छन् । मुख्य प्रतिद्वन्द्वीका रूपमा भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेस, राष्ट्रिय जनता दल (आरजेडी) र अरू साना दलहरू सम्मिलित महागठबन्धन रहेको थियो ।
रणनीतिको प्रशंसा बीजेपी र उसका वरिष्ठ नेताहरूले चुनावी नतिजाको प्रशंसा गरेका छन् र बिहारका मतदाताहरूलाई धन्यवाद दिएका छन् । बिहारमा भएको चुनावले आगामी वर्ष बङ्गाल, केरला र तमिलनाडुमा हुने चुनावका लागि पूर्वसङ्केत गर्ने छ, जहाँ सत्ताबाहिर रहेको बीजेपीले आफ्नो प्रभाव देखाउन सङ्घर्ष गर्नुपरेको छ । बिहार भारतका सबैभन्दा गरिब राज्य हो, जहाँका लाखौँ जनता कामका लागि अरू राज्यहरूमा जाने गर्छन् । बिहार भारतका त्यस्ता थोरै राज्यहरूको सूचीमा पर्छ, जहाँ बीजेपी आफैँले मात्र सरकार गठन गर्न सकेको छैन । राजनीतिक विश्लेषकहरूले बिहारमा बीजेपी नेतृत्वको गठबन्धनको रणनीतिको प्रशंसा गरेका छन् । ‘बीजेपीले यो चुनावमा राम्ररी प्रतिस्पर्धा गर्यो । चिराग पासवानले गठबन्धनभित्र असहजता निम्त्याउने गरी कहीँ कतै पनि अभिव्यक्ति दिएनन् । गठबन्धन एकढिक्का रह्यो । त्यसले मतदातामा विश्वास जगायो,ू राजनीतिक विश्लेषक मनीषा प्रियमले भनिन् । अर्कोतर्फ सीट बाँडफाँटको सन्दर्भमा विपक्षीहरूको महागठबन्धन एकमत देखिएनन् । ‘कङ्ग्रेसले तेजस्वी यादवमाथि समय छँदै विश्वास व्यक्त गर्न सकेन । यो गठबन्धनको शुरूवात नै गडबड थियो । कङ्ग्रेस निकै कमजोर सहयोगी दल साबित भयो,’ अर्की राजनीतिक विश्लेषक शेफाली रायले भनिन् । नीतिश कुमारले सहानुभूति मत पाएको कतिपय जानकारहरूले बताएका छन् । ‘नीतिश कुमारका लागि यो बिदाई चुनाव थियो र बिहारका मतदाताहरूले उनलाई राम्रोसँग बिदा गरे,’ वरिष्ठ पत्रकार सन्तोष सिहंले भने । खास गरी महिलाहरूले नीतिश कुमारप्रति सहानुभूति राखेको प्राध्यापक राकेश रन्जन बताउँछन् । ‘मानिसहरूमा एउटा सन्देश थियो कि शायद नीतिश कुमारको यो अन्तिम चुनाव हुने छ। नीतिश कुमारप्रति महिलाहरूको विशेष झुकाव रहिआएको छ। त्यसैले उनीहरूले राम्ररी बिदाइ भोट दिए,’ उनले भने ।–एजेन्सी