सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले प्रदेशको धुलो दुध कारखानामा अनुगमन गरी शिघ्र पूर्ण सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । बिहीबार मन्त्री पौडेलले करिब ४७ करोड रुपैयाँको लगानीमा निर्माण भएपनि सञ्चालन कार्यविधि नबन्दा लामो समयदेखि परीक्षण उत्पादनमै सीमित रहेको उक्त कारखनाको भौतिक र प्राविधिक अवस्था बुझेका हुन् । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ पुस १६ गते शिलान्यास गरेको र झन्डै तीन वर्ष लगाएर निर्माण पूरा भएको यो कारखानाले २०८० सालको मंसिरबाटै परीक्षण उत्पादन सुरु गरेको थियो । तर, प्रदेश दुग्ध विकास बोर्डले सञ्चालनको मोडालिटी तथा कार्ययोजना तय गर्न नसक्दा यो ठूलो लगानी अलपत्र पर्ने जोखिम बढेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । अनुगमनपछि प्रतिक्रिया दिँदै मन्त्री पौडेलले लगानी जोखिममा पर्नु गम्भीर विषय भएको औँल्याए । उनले कारखाना सञ्चालनको कार्यविधि तयार पार्ने काम अन्तिम चरणमा पुगेको बताए । उनको अनुगमनको मुख्य उद्देश्य भनेको छिटो कार्यविधि स्वीकृत गरी कारखानालाई पूर्ण क्षमतामा सञ्चालनको सुनिश्चितता गर्नु रहेको प्रस्टोक्ति दिए । मन्त्री पौडेलका अनुसार कारखाना पूर्ण रूपमा सञ्चालनमा आएमा प्रदेशभित्र दूधको अधिक उत्पादन भएको बखत किसानले दूध सडकमा फाल्नुपर्ने वा सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन् । दैनिक ६० हजार लिटर दूध खपत गर्ने क्षमता रहेको र वार्षिक करिब १५ सय मेट्रिक टन धुलो दुध उत्पादन गर्नसक्ने यो कारखानाले दुग्ध किसानलाई उचित मूल्यको निश्चितता प्रदान गरी प्रदेशको कृषि अर्थतन्त्रलाई ठूलो टेवा पुर्याउनेछ । हाल, कारखानाबाट धुलो दुध परीक्षण उत्पादनका लागि दुग्ध विकास संस्थान (डिडिसी)लाई जिम्मेवारी दिएको भएपनि यसलाई औपचारिक निर्णय भने दिइएको छैन । मन्त्री पौडेलले अब डिडिसीलाई नै निरन्तरता दिने कि प्रतिस्पर्धाका आधारमा अन्य संस्थालाई जिम्मा दिने भन्नेबारे छलफल भइरहेको जानकारी दिए । परीक्षणकालमै डिडिसीले ४४ लाख लिटर दूध प्रशोधन गरी ३ सय ९९ मेट्रिक टन धुलो दुध र २ सय मेट्रिक टन बटर उत्पादन गरेको तथ्याङ्क छ ।