रौतहट प्रहरीद्धारा ११ जना प्रतिवादी पक्राउ

शुक्रबार, कात्तिक २१, २०८२

रौतहट । रौतहट प्रहरीले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका कैदीसहित विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।  गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा गौर कारागारबाट भागेका दुईजना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा चन्द्रपुर–१ बस्ने ४७ वर्षीय नागेन्द्र माझीलाई पक्राउ गरिएको र देवाही गोनाही–६ का सुधीरकुमार राम भने स्वेच्छाले कारागार कार्यालय गौरमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले जानकारी दिए । रौतहट जिल्ला अदालतको २०६१ सालको फैसला अनुसार १ वर्ष १ महिना १५ दिन कैद र १ लाख ५४ हजार ७ सय रुपैयाँ जरिवाना ठहर भएका राजदेवी नगरपालिका–८ का दिनेश कुमार चौधरी कलवारलाई पनि पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए । ईशनाथ नगरपालिका–३ का २१ वर्षीय मनिष कुमार साहलाई १८ गते झाझ पुलनजिक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  यस्तै ईशनाथ नगरपालिका–७ का जादोलाल साहलाई अदालतको फैसलाअनुसार एक महिनाको कैद सजाय भएपछि  पक्राउ गरी अदालतमा उपस्थित गराइएको रौतहट प्रहरीले जनाएको छ ।  यी लगायतका विभिन्न घटनामा संलग्न ११ जना प्रतिवादीलाई पक्राउ गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार