ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

मंगलबार, कात्तिक ११, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौता सम्पन्न भएको छन् । एक सम्झौता व्यापारसँग सम्बन्धित छ भने अर्को दुर्लभ र महत्वपूर्ण खनिजको आपूर्ति सुदृढ गर्न केन्द्रित छ । पहिलो सम्झौतामा ‘अमेरिका–जापान गठबन्धनको नयाँ सुनौलो युग’को घोषणा गरिएको छ । यस सम्झौताअनुसार जापानी लगानीकर्ताले अमेरिकामा करिब ५५० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्नेछन् । बदलामा अमेरिकी पक्षले जापानी निर्यातमा १५ प्रतिशत कर लागू गर्ने व्यवस्था गरेको छ । दोस्रो सम्झौताले दुर्लभ र महत्वपूर्ण खनिजको खानी र प्रशोधन क्षेत्रमा सहकार्य बढाउने ढाँचा तयार गरेको छ । यो सम्झौताको उद्देश्य अत्यावश्यक सामग्रीको आपूर्ति शृंखलालाई मजबुत बनाउँदै इलेक्ट्रोनिक्स र प्रविधि उत्पादनमा आवश्यक कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्नु हो । यी सम्झौताहरू सोमबार टोकियोको आकासाका प्यालेसमा भएको ट्रम्प र ताकाइचीबीचको द्विपक्षीय बैठकपछि हस्ताक्षर गरिएको हो । उक्त बैठकले दुवै देशबीचको रणनीतिक र आर्थिक साझेदारीलाई थप बलियो बनाएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री ताकाइचीले भेटपछि भनिन्, ‘हामी अमेरिका–जापान सम्बन्धलाई नयाँ सुनौलो युगतर्फ लैजानेछौ । यो संसारकै महानतम् गठबन्धन हो ।’ उनले पश्चिम एसियामा शान्ति प्रवद्र्धन र थाइल्यान्ड–क्याम्बोडियाबीचको विवाद समाधानमा ट्रम्पको भूमिकाको पनि प्रशंसा गर्दै ‘अभूतपूर्व ऐतिहासिक उपलब्धि’ भनेकी छन् । सम्झौता हस्ताक्षरपछि आकासाका प्यालेसमा स्वागत समारोह आयोजित गरिएको थियो, जहाँ ट्रम्प र ताकाइचीले सम्मान गार्ड अवलोकन गर्दै अधिकारीहरूसँग भेटघाट गरेका थिए । समारोहले वाशिङ्टन र टोकियोबीच बढ्दो मित्रता र सहकार्यलाई प्रतीकात्मक रूपमा झल्काएको थियो । कार्यक्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियो, कोष मन्त्री स्कट बेसन्ट, वाणिज्य मन्त्री हावर्ड लुटनिक, अमेरिकी व्यापार प्रतिनिधि, र ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिट पनि सहभागी थिए । ट्रम्पको जापान भ्रमण उनले सोमबार सम्राट नारुहितोसँग गरेको भेटपछि सुरु भएको हो । सो अवसरमा उनले सम्राटलाई ‘महान व्यक्ति’ भन्दै सम्मान व्यक्त गरेका थिए । ट्रम्पको यो भ्रमण पाँच दिने एसियाली दौरा अन्तर्गतको दोस्रो गन्तव्य हो । यसअघि उनले मलेसियामा सम्पन्न ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी हुँदै क्याम्बोडिया–थाइल्यान्ड शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।–एएनआई 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  ११:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार