प्रधानमन्त्री देउवाद्वारा विश्वासको मत प्रस्ताव

आइतबार, साउन ३, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको  पहिलो प्राथमिकता भएको बताएका छन् । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै उनले जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिलाए । प्रधानमन्त्री देउवाले भने, “कोभिड–१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्,  सङ्घीय लोकतान्त्रिक गणतन्त्र,  शान्ति र विकास हाम्रा साझा दायित्व हुन् । विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ ।” राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिए । उनले मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास दिलाए । नेपाली कांग्रेसका सभापति देउवाले भने, “मुलुकको हित तथा साझा उद्देश्य प्राप्तिका लागि दलहरुबीच सहकार्य आवश्यक छ ।”  मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उहाँले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गरे । प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गरे । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले अहिले उक्त प्रस्तावमाथि दलगत धारणा राखिरहेका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफपछि सो प्रस्तावलाई निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यसूची छ ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार