सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेको बताउँदै पुनःनिर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यलगायत संरचनामा ठूलो क्षति पुगेको उल्लेख छ । सोही कारण होटल हाल पूर्ण रूपमा बन्द रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “हाल क्षतिको पूर्ण मूल्यांकन भइरहेको छ । मूल्यांकनपछि होटलको स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।” होटलले पुनर्निर्माण र स्तरोन्नतिको सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्तीमा एक वर्ष लाग्ने जनाएको छ । हायातले आन्दोलनका क्रममा होटलमा भएको क्षतिप्रति प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ र सहयोग प्रदान गर्ने आश्वासन दिएकोप्रति आभार पनि व्यक्त गरेको छ । होटलले पुनर्निर्माणपछि आफ्नो सञ्चालनले नेपालको पर्यटन क्षेत्रको प्रतिष्ठा अझै उच्च बनाउने दृढ संकल्प व्यक्त गरेको छ । साथै, यसले सरकारी राजस्वमा योगदान पुर्याउँदै देशको आर्थिक विकासमा थप योगदान गर्ने उद्देश्य राखेको छ ।