सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी भएको । यहाँका स्याउ कृषकहरुले स्याउ बिक्री गरेर १ करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् । बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दामा उतपादित स्याउ बिक्रिबाट सो रकम आन्दानी गरिएको हो । अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठूला शहर काठमाडौं, नेपालगन्ज, सुर्खेत, धनगढीमा भेटाउन सकिन्छ । बाजुराका किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेको ठूलो परिणामको स्याउ बाह्य जिल्लामा निर्यात गर्ने गरेका छन् । कृषि ज्ञान केन्द्र बाजुराको ढुवानीमा उनीहरूले स्याउ बिक्री गर्ने गरेका छन् । अघिल्लो बर्षको तुलनामा भन्दा यो स्याउ उत्पादनमा भने कमी आएको हो । बाजुरामा भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो । कतिपय किसानले डोकोमा बोकेर स्याउ बिक्री गरे पनि ठूलो परिणामको स्याउ बजारिकरणबाट एक करोड बढि आम्दानी भएको हो । अन्य सानोतिनो संख्यामा बिक्री भएको स्याउको विवरण र आम्दानी नराखिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । बाटो बन्दका कारण स्याउ ढुवानीमा केही समस्या भएको थियो । सडकले बन्दले समयमै सोचेजस्तो स्याउ बजारिकरण गर्न नसक्दा केहि मात्रामा घाटा व्यहोर्नु परेको बुढिनन्दाका स्याउ कृषक पुर रावतले बताए । तर पनि पाकेको स्याउ कर्णाली करिडोर हुँदै अन्य जिल्ला निर्यात गरिएकोले किसानहरुलाई आम्दानी गर्न सहज भएको उनले बताए । कृषि ज्ञान केन्द्र बाजुराले ४ वर्षयता कृषकको बारीबाटै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउँदै आएको छ । बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ । बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढिनन्दा, गौमुल लगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ । हरेक बर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन् । यहाँको हिमाली, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथमा राम्रो उत्पादन हुने गरेको छ । यता गौमुल र बडीमालिकामा पनि पछिल्लो समय केही रुपमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।