सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हमासले इजरायलमा गरेको आक्रमणका बेला मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित महाकाली नदी किनारमा अन्त्येष्टि गरिने भएको छ । विपिनको शव यात्रा बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट सुरू हुनेछ । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरी राष्ट्रिय सम्मानसहित धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवमं प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए । इजरायलले सोमबार विपिनको शव नेपाल पठाएको थियो । काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा ल्याएको शव सोही दिन साँझ धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो । विपिनको शवसँगै नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोली पनि कञ्चनपुर पुगेको छ । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो । यसअघि हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको हो । हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका विपिन जोशीको शरीर सोमबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए ।