Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

विपिन जोशीको शव आज नेपाल ल्याइँदै

सोमबार, कात्तिक ३, २०८२

काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदैछ । इजरायली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ । काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्‍याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रद्धाञ्जली दिन प्रधानमन्त्री विमानस्थल जाने
इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्की विमानस्थल पुग्ने भएकी छन् । सोमबार दिउँसो २ः३५ बजे जोशीको शव फ्लाई दुबईमार्फत काठमाडौं आइपुग्नेछ । त्यसपछि विमानस्थल पुगेर प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । ‘विमानस्थलमा श्रद्धाञ्जली दिएर शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी लैजाने तयारी छ, त्यसपछि एयर एम्बुलेन्समार्फत महेन्द्रनगर लैजाने तयारी छ,’अधिकारीले भने । हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आकस्मिक आक्रमण गरेको थियो । त्यसबेला १० नेपाली विद्यार्थीसहित करिब १ हजार २ सयको मृत्यु भएको थियो । विपिनसहित २ सय ५१ जना हमासको नियन्त्रणमा परेका थिए । त्यो दिन बिहान साढे ६ बजेतिर एक्कासि मिसाइल आउन थालेपछि विपिनसहित उनका साथीहरु किबुज अलुमिमको बंकरमा बसेका थिए । त्यसको केही समयपछि स्थलमार्गबाट आएका हमासका लडाकुले आक्रमण गर्न थाले । नेपाली विद्यार्थीहरुले ‘वी आर नेपाली, वी आर नेपाली’ भनिरहँदा समेत उनीहरुले आक्रमण गरिरहे । पछि एउटा ग्रिनेड विपिनले टिपेर बाहिरतिरै फ्याँकिदिएका थिए । त्यहीबेला हमासले उनलाई अपहरण गरेको थियो । अमेरिकाको सहजीकरणमा युद्धविराम भएपछि उनी छुट्ने अपेक्षा गरिएको थियो । तर, जोशीको मृत्यु भइसकेको जानकारी हमासले दिएको भन्दै इजराइल डिफेन्स फोर्स (आईडीएफ) ले जोशीको परिवार, इजरायलस्थित नेपाली राजदूत र अरुलाई जानकारी गराएको थियो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार