जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

बिहीबार, असोज ३०, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो । आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी गरी सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ । उनीमाथि विकास कोषका योजनाबाट नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको अभियोग छ । आयोगले उनलाई आजै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ । आयोगले उनीसहित १६ जनाविरुद्व मुद्दा दायर गरेको छ । गत २९ जेठमा पनि सिंहलाई अनामनगरबाट पक्राउ गरी बयान लिएर तारेखमा छाडिएको थियो । तर, पछिल्लो अनुसन्धानमा उनले उपभोक्ता समितिहरूको नाममा कोषको रकम जम्मा गरी सो रकमबाट करिब ३७ प्रतिशत कमिसन आफ्नै र श्रीमतीको बैंक खातामा सारेको प्रमाण फेला परेको आयोगको दाबी  छ । उनले आफ्ना निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम हिनामिना गरेको पाइएको छ । आयोगले कायस्थलाई गत १२ असोजमा पक्राउ गरेको थियो । अब आयोगले दुवैजनासँगै सो प्रकरणमा संलग्न अन्य उपभोक्ता समितिका पदाधिकारीहरूमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंह पूर्व गृह राज्यमन्त्री (आन्तरिक मामिला) समेत हुन् । उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उनको प्रदेश सांसद पद निलम्बन भएको पुष्टि गरेका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा १७ र १९, साथै संविधानको धारा १८७ (६) अनुसार सिंह स्वतः निलम्बनमा परेका हुन् । सिंहको निलम्बनसँगै मधेस प्रदेशसभामा निलम्बित सांसदको संख्या तीन पुगेको छ । यसअघि नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुर भ्रष्टाचार मुद्दामा र अर्का सांसद मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा जन्मकैद सजाय पाएपछि निलम्बनमा परेका थिए । अख्तियारले यो प्रकरणमा थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार