सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दबहादुर पुनमाथि पनि अनुसन्धान सुरु भएको छ । तस्करी प्रकरणमा पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन वर्षअघिको तस्करी प्रकरणमा महरालाई आइबार पक्राउ गरेको हो । भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा महरामाथि अनुसन्धान अघि बढाइएको छ । दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर १० पुस २०७९ मा ल्याइएको करिब ८ करोड ५५ लाख २८ हजार बराबरको करिब ९ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुल सक्रिय रूपमा खटिएका थिए । त्यति बेला ७३ वटा बाकसमा राखेर ल्याइएको ७३० थान भेप शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिएको थियो । भेप लिएर आएका भरिया ली हसङ तत्कालै फरार भएका थिए । पछि भेप सुन छुटाउन चिनियाँ तस्कर दावाजिन वाङले पूर्वसभामुख महरा र उनका छोरा राहुलको सहयोग लिएका थिए । सुन छुटाउन पहल गर्ने क्रममा महरा बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भन्सार गोदामबाटै भेप चोरी भएपछि मात्रै सुन तस्करीको रहस्य खुलेको थियो । त्यस प्रकरणमा भन्सारका कर्मचारी र एजेन्टविरुद्ध सुरुमा मुद्दा दायर भएकामा पछि २४ असोज २०८० मा राहुल महराविरुद्ध पूरक मुद्दा अदालतमा लगिएको थियो । पूर्वसभामुख महराविरुद्ध भने सूक्ष्म अनुसन्धान नै हुन सकेको थियो जबकि भेप छुटाउन आफूले विमानस्थलका कर्मचारीलाई फोन सम्पर्क गरेको स्वीकार गरेका थिए । महराको परिवारसँग चिनियाँ सुन तस्करहरूको सम्बन्ध २ दशकअघिबाटै रहेको पनि खुलेको थियो । पूर्वसभामुख महरालाई ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ‘स्वास्थ्यको कारण’ देखाउँदै महरालाई ‘हाजिरी जमानी’ मा छाडेको थियो । त्यसपछि सीआईबीमा यो विषय थन्किएको थियो । सरकारले पनि अनुसन्धानमा चासो दिएको थिएन । डेढ वर्षपछि सुन तस्करीको अनुसन्धान ब्युँताउँदै सीआईबीले पूर्वसभामुख महरालाई पुनः पक्राउ गरेको हो । दुई पटक उपराष्ट्रपति भइसकेका माओवादी नेता पुन र उनका दुई छोरा जितेन्द्र र दीपेश तथा उनी उपराष्ट्रपति छँदा ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा नियुक्त जीवन गुरुङविरुद्ध पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ । जितेन्द्रले हुम्लापारि चिनियाँ भूमि ताक्लाकोट पुगेर तमसुक गरी ४ किलो सुन बुझेको भिडियो र तस्बिरसहितको समाचार सार्वजनिक भएको थियो । तस्करीबाट सुन भित्र्याउन जितेन्द्रले बाबुको ओहदा दुरुपयोग गरी आफूलाई हुम्लावासी बनाई सीमा वारपार गर्ने परिचयपत्र बनाएका थिए । रोल्पाको राङ्सी स्थायी घर भएका जितेन्द्रले त्यस्तो परिचयपत्र गृह मन्त्रालयबाट लिएका हुन् । सुनको भुक्तानी नदिएपछि चिनियाँले तत्कालीन उपराष्ट्रपति पुनसँगै कुराकानी गरेको तथ्य पनि खुलेको थियो । पूर्वराष्ट्रपति पुनमाथि अनुसन्धान नै भएको थिएन । पूर्वउपराष्ट्रपति पुनका अर्का छोरा दीपेश असार २०८० मा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो र त्यसअघि १० पुस २०७९ मा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन तस्करीमा मुछिएका थिए । सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता किटान गर्दै सुन जाँचबुझ आयोगले पनि थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । दीपेश नक्कली भुटानी शरणार्थी प्रकरण र सहकारी ठगी प्रकरणका पनि आरोपित हुन् । पुन उपराष्ट्रपति छँदाका ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङ त्रिभुवन विमानस्थलमा १९ मंसिर २०८० मा बरामत १४ केजी सुन प्रकरणमा मुछिएर १४ फागुनमा पक्राउ परेका थिए । पछि उनी धरौटीमा छुटेका थिए ।