सुरक्षाकर्मीको आँखा छलेर बजारमा भित्रियो पटका 

आइतबार, असोज २६, २०८२

रौतहट । हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार पर्वलाई लक्षित गरी तस्करले रौतहट जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम सुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले ती नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्र्याउने गरेका छन् ।  तस्करले रौतहटको बंकुल, लक्ष्मीपुर बेलविछुवा, रामपुर खाँप, औरैयालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको स्थानीयले बताएका छन् ।  अहिले गौर, कटहरिया, गरुडा, मौलापुर, सुकदेव चौक लागायतका स्थानमा पटका लुकाइ छिपाई बिक्री हुने गरेको स्थानीय कमलदेव पटेलले बताए । उनका अनुसार पटकासहितको बिस्फोट पदार्थ बिक्री गरेको थाहा पाउन साथ प्रहरीले बरामद गर्ने गरेको छ ।  भारतको बैरगनियालगायतका भारतीय बजारबाट ‘क्यारियर’वालाले  ती पटका गौर लगायतका नेपाली बजारसम्म ल्याउने ठेक्का समेत लिने गरेको बताइन्छ । ती ‘क्यारियर’वालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थका रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् । सीमा नाकामा प्रहरीले भेट्टाएसम्म पटका भने समात्ने गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार