शैलुङका किसानलाई तरकारी बेच्ने चटारो 

आइतबार, असोज २६, २०८२

रामेछाप । रामेछाप र दोलखाको उत्तरी क्षेत्र शैलुङका किसानलाई अहिले भ्याइनभ्याइ छ ।  यतिबेला शैलुङका किसानलाई तरकारी बेच्ने चटारो छ । अति उब्जाउयोग्य भूमि रहेको शैलुङमा अहिले बेसिजनको काउली, बन्दा, गाजर, मुला केराउलगायतका तरकारी बाली लोभलाग्दो छ । किसानका बारी, घर, पेटीदेखि सडकसम्म जताततै तरकारी नै तरकारी देखिन्छ ।  अहिले किसानले लगाएको सबै तरकारी बिक्रीको बेला भएको स्थानीय किसान दावासाङ्बु शेर्पाले बताए । तरकारीको सिजनमा शैलुङका एक जना किसानले चार/पाँच लाख रुपैयाँसम्मको तरकारी बेच्ने शेर्पाले जानकारी दिए ।  किसानले उत्पादन गरेको शैलुङको आलु लगायतका तरकारी किन्न व्यापारीहरू किसानका बारीमा नै पुग्ने गर्दछन् । यस वर्ष असोजको वर्षाले सडक बिगारेको कारण भने किसानलाई आफ्नो उत्पादन बजार पुर्‍याउन निक्कै गाह्रो भएको शेर्पाले बताए ।  शैलुङको तरकारीको मुख्य बजार काठमाडौंको कालीमाटी हो । यस बाहेक अन्य स्थानीय बजारहरूमा पनि तरकारी बिक्री हुने गर्दछ । काठमाडौं जाने बिपी राजमार्ग बन्द हुँदा किसानलाई तरकारी काठमाडौं पुर्‍याउन निक्कै समस्या भयो ।  मुढे–शैलुङ सडक मर्मत गरी केही तरकारी किसानहरूले सो बाटो भएर काठमाडौंसम्म पुर्‍याए । अब बिपी राजमार्ग सञ्चालनमा आएकोले उत्पादन बजार पुर्‍याउन किसानलाई सहज हुने भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार