भारतमा महामारीको तेस्रो वेभको खतरा, अबका १ सय दिन बढी जोखिम 

आइतबार, साउन ३, २०७८

नयाँ दिल्ली । भारतले कोभिड–१९ को महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ । सरकारले नागरिकलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउन आह्वन पनि गरेको छ । भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भिके पाउलले तेस्रो लहरको खतरा उल्लेख गर्दै सावधानी अपनाउन आह्वान गरेका हुन् ।
‘अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा छ । त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्छ’, उनले भने ।  उनले भने, ‘हाम्रो जनसंख्या धेरै छ, यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ । हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नाैँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्ने छ ।’
हालै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को विश्वको अवस्थाको मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको बताएको थियो ।
विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारी विरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने बताएको थियो ।
यसअघि पनि भारतका अधिकारीले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट यो भारतमा कोभिड–१९को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

भारतमा थप ३८ हजार ७९ नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । 
सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् । 
पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १३ हजार ९१ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड २० लाख २१ हजार ९५४ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ९८ हजार ७१५ जनाको स्वाब परीक्षण जुलाई १६ का दिन भएको छ । 
त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड ९६ लाख ९५ हजार ८७९ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ४२ लाख १२ हजार ५५७ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।–एएनआई
 
 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार