सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ । वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ । यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो भने नेपाली नागरिक विपिनको अवस्था अज्ञात भनिएको थियो । गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भइसकेको छ भने बन्धकहरू आज वा सोमबारसम्म रिहा गरिने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताइसकेका छन्। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलयमा आक्रमण गर्दा विपिन पनि अपहरणमा परेका थिए । अहिले बन्धक रिहा गरिने खबरसँगै कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी निवासी महानन्द जोशीको परिवारमा विपिन फर्किने आशा जागेको छ ।
गाजामा युद्धविरामपछि भग्नावशेषबाट शवहरू निकालिँदै
गाजामा युद्धविराम कार्यान्वयनमा आएर इजरायली फौजहरू कतिपय क्षेत्रबाट हटेपछि उद्धारकर्मीहरूले भग्नावशेषबाट शवहरू निकालिरहेका छन् । अवस्था अज्ञात रहेका प्यालेस्टिनीहरूलाई खोज्न भग्नावशेषहरू हटाउने कार्य भइरहेको गाजास्थित हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले जनाएको हो । उसका अनुसार गाजाभरि ९,५०० प्यालेस्टिनीको अवस्थाबारे थाहा हुन सकेको छैन। गाजामा युद्धविराम कार्यान्वयनमा आएको शनिवार दोस्रो दिन शुरू भएको छ । भग्नावशेषभित्र रहेका सबै शव निकाल्न आवश्यक उपकरण आफूहरूसँग नरहेकाले इजरायलसँग समन्वय गरिदिन एजेन्सीले रेडक्रससँग समेत आग्रह गरेको छ ।
बन्धक रिहाइको प्रतीक्षा
उसका अनुसार युद्धविराम कार्यान्वयनमा आएयता गाजा सिटीमा तीन लाख मानिसहरू फर्केका छन् । तर उत्तरतर्फ आएका प्यालेस्टिनीहरू बस्नका लागि न त त्रिपाल छ न त घरहरू नै छन् । इजरायली आक्रमणका कारण गाजा सिटी र उत्तरबाट करिब सात लाख मानिसहरू विस्थापित भएका छन् । त्यहाँ र आसपासका केही क्षेत्रमा भीषण हवाई बमबारीका साथै सेना पनि प्रवेश गरेको थियो । हमास र इजरायली सेनाबीच दुई वर्ष चलेको युद्धका कारण धेरै घरहरू ध्वस्त भइसकेका छन् । सहायता सामग्री बोकेका सयौँ ट्रकहरू गाजातर्फ पठाउन तयारी अवस्थामा रहेका सहायता संस्थाहरूले बताएका छन् ।
युद्धविरामअन्तर्गत हमासले बाँकी रहेका सबै इजरायली बन्धकहरू रिहा गर्नुपर्ने छ भने त्यसको बदलामा इजरायलले सयौँ प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने छ । इजरायलले गाजाबाट कैद गरेका १,७०० जना तथा करिब २५० कैदीबन्दी रिहा गर्ने तयारी गरेकामा हमासले थप कैदीहरू रिहाका लागि दबाव दिइरहेको छ । सिभिल डिफेन्स एजेन्सीले उद्धार तथा राहत अभियानका क्रममा १५० वटा शव भग्नावशेषबाट निकालिएको जनाएको छ । तर ती शवहरू निकालिएको यकिन मितिबारे केही उल्लेख गरिएको छैन । मानिसहरू पहिला नै भग्नावशेषभित्र फसेका हुन सक्ने ठानिएको छ । शनिवार एकाबिहानदेखि समस्यामा परेको भन्दै ७५ वटा कल आएको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।
सुरक्षा बल बोलाइयो
इजरायली फौज हटेपछि हमासले गाजामा पुनः आफ्नो नियन्त्रण कायम राख्न आफ्ना करिब सात हजार सुरक्षाकर्मी फिर्ता बोलाएको स्थानीय स्रोतहरूले जनाएका छन् । उसले सैनिक पृष्ठभूमिका पाँच नयाँ गभर्नरहरू समेत नियुक्त गरेको छ । उनीहरूमध्ये केही हमासको सशस्त्र एकाइका कमान्डर रहेका बुझिएको छ । विवरणहरूमा जनाइएअनुसार फोन र टेक्स्ट मेसेजमार्फत् उनीहरूलाई परिचालित हुन भनिएको छ । सुरक्षाकर्मीहरूलाई आगामी २४ घण्टाभित्र परिचालित हुने उनीहरूलाई पठाइएको टेक्स्ट मेसेजमा उल्लेख छ । गाजाबाट प्राप्त विवरणहरूका अनुसार हमासका सशस्त्र एकाइहरू विभिन्न जिल्लामा परिचालित भइसकेका छन् ।
तीन महिना पुग्ने खाना
संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी सहायता निकायले गाजामा प्यालेस्टिनीहरूलाई तीन महिनासम्म पुग्ने खाद्यान्न आफूसँगा रहेको जनाएको छ । यूएनआरडब्ल्यूएकी सञ्चार निर्देशक जुलिअट टूमाले "भोकमरी नियन्त्रणका लागि सहायता वितरण गर्नु महत्त्वपूर्ण" रहेको बताइन् । संयुक्त राष्ट्रसङ्घ समर्थित खाद्य सुरक्षा निकायले गत अगस्टमा गाजा र आसपासका क्षेत्रमा भोकमरीको अवस्था पुष्टि गरेको थियो । व्यापक रूपमा देखिएको खानेकुरा अभावलाई सम्बोधन गर्न तत्काल सहायता पुर्याउन अनुमति दिनुपर्ने माग टूमाले दोहोर्याइन् । गाजा सम्झौताको पहिलो चरणका शर्तबमोजिम युद्धविराम कार्यान्वयनमा आउनासाथ हरेक दिन सहायता सामग्री बोकेका ६०० वटा ट्रकहरू पुग्नुपर्ने छ ।