सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाँडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संवैधानिक राजसंस्थासहितको व्यवस्था आउने दाबी गरेका छन् । सामाजिक सञ्जालमा मंगलबार आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि गरेका छन् । जेनजी आन्दोलन समेत पश्चिमाहरूको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संविधान पुनः स्थापना गर्नु आवश्यक रहेको औंल्याएका छन् । उनले संवैधानिक राजसंस्थासहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नका लागि तयार रहन अनुरोध समेत गरेका छन् ।
नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ? हिजोको राजाको शासन एक पटक सम्झिनुस ! गणतन्त्र हुँदै गिरिजा, देउवा, प्रचण्ड, ओली हँुदै आज जेनजी आन्दोलनको नाममा पश्चिमाहरूको डिजाइनमा बालेन जस्ता लुसिफर र सुशीला कार्कीको सरकार, त्यसमा पनि नेपाली सेना, प्रहरी र कर्मचारीलाई ठाडो निर्देशन दिएर हिड्ने सुदन गुरुङ्ग ! भनेपछि देश कहाँ पुग्यो र देशलाई कहाँ लगिदै छ ? त्यहि भएर धैर्य गर्नुस राजा, देउता, धर्म र संस्कृति खोपीमै भए पनि चाहिँदो रहेछ, प्रतिक्षा गर्नुस् ! बौद्ध, किराँतसहितको बैद्विक सनातन हिन्दु अधिराज्य नेपाल बनाउन, २०४७ सालको संविधान पुनः स्थापना गर्नु छिमेकी मुलुकका लागि पनि र नेपालीहरूका लागि पनि अपरिहार्य भएको छ, त्यसैले चाडै देशमा नेपाल र नेपाली नागरिकहरूले चाहेको संवैधानिक राजसंस्थासहितको व्यवस्था आउँदै छ, हातमा दियो बोकेर दिपावली गर्नका लागि तयार रहनुहोला । साथै लघुवित्त पीडित, सहकारी पीडित, बैंकबाट कालो सूचीमा परेका र घरबार लिलाम भएका सम्पूर्ण अभियान्ताहरूलाई काठमाडौँ केन्द्रित भई देशै भरी आन्दोलनका लागि तयार रहन अनुरोध गर्दछु ।