दोषीहरूलाई कारवाही गर्न नसक्ने सरकारले कुर्सी छाडिदिए हुन्छ : गणेश चौलागाई

सोमबार, असोज २०, २०८२

काठमाडौं । जेनजी शहीद श्रेयम चौलागाईका बुबा गणेश प्रसाद चौलागाईले जेनजी आन्दोलनमा दमन गर्ने दोषीहरूलाई कारवाही गर्न नसक्ने हो भने शहीद परिवारहरूले देशको नेतृत्व लिने बताएका छन् । सोमबार गृह मन्त्रालयमा छलफलका लागि पुगेका चौलागाईंले देशको नेतृत्व शहीद परिवारले लिने दाबी गरेका हुन् । उनले आन्दोलनमा गोली चलाउन आदेश दिनेहरूविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनेसमेत बताए । उनले भने, ‘शहीद परिवारलाई अवमूल्यन गर्न खोजिएको हो भने हामी पनि त्यही तरिकाले जान्छौं । सरकारले दोषीलाई कारवाही गर्न सकिँदैन् भन्छ भने छिटोभन्दा छिटो कुर्सी छाडिदिए हुन्छ । किनभने यो सरकार बनाएको नै कारबाहीको लागि हो । यदि सकिँदैन् भने कुर्सी छाडिदिए हुन्छ । शहीद परिवारले नेतृत्व लिएर के गर्नुपर्छ गर्छन् ।’ यस्तै, शहीद परिवार कसैको पनि सरकारमा प्रतिनिधित्व नभएको बताए । उनले आज र भोलिमा जेनजीका को–को साथीहरू कुन कुन मन्त्रालयमा हुनुहुन्छ, कुन कुन समितिमा राखिएको छ त्यो सूची आफूहरूलाई चाहिएको पनि बताए । उनले भने, ‘किटानी जाहेरी दिनुपर्छ भन्ने सुझाव आएकाले छलफलका लागि गृह मन्त्रालय आएका हौँ । अर्को कुरा भनेको सरकारमा जेनजीको प्रतिनिधित्व को हो र मन्त्रालयमा जेनजीको मान्छेहरू को को सहभागी हुनुभएको छ त्यो नामावली हामीलाई चाहियो भनेका छौं । शहीद परिवार र जेनजी प्रतिनिधि को को सहभागी गराउनुभएको छ त्यो जानकारी लिन चाहन्छौं ।’ साथै, ११ सदस्य वार्ता टोलीमा शहीद परिवारको सहभागिता हुनुपर्ने माग राखे । साथै उनले जेनजी प्रतिनिधिहरूले पनि काम गर्न सक्दैनन् भने सक्दैनौ भनेर छाड्नुपर्ने बताए ।
आफूहरूले अगाडि सारेका मागहरू पूरा नभए सिंहदरबार अगाडि बसेर धर्ना दिने उनले बताए । हाल शहीद परिवारका सदस्यहरू संगठित भएर सरकारलाई दबाब बढाउन थालेका हुन् । उनीहरू सोमबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए । 

प्रकाशित मिति: सोमबार, असोज २०, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार