सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको महाविधेशन आयोजक कमिटिको सचिवालय बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै घोषित मितिमै निर्वाचन गराउने पक्षमा सकारात्मक भूमिका खेल्ने निर्णय गरेको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले निर्वाचन गराउने वातावरण बनाउन सम्बन्धित पक्षहरूसँग छलफल गरिने जानकारी दिए । उनले भने, ‘घोषित मितिमा निर्वाचन गर्न सकारात्मक भूमिका खेल्नेछौं । त्यसका लागि सम्बन्धित पक्षसँग छलफल अघि बढाउनेछौं ।’ बैठकले समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाबारे सामान्य समीक्षा गरेको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा विस्तार र पार्टी एकता सम्बन्धी विषयमा बैठकमा बृहत् जानकारी गराएका थिए । ‘समाजवादी मोर्चालाई विस्तार गर्नेबारे छलफल भइरहेको छ । विचार मिल्ने पक्षसँग पार्टी एकताको सन्दर्भमा पनि सकारात्मक छलफल जारी छ,’ सापकोटाले भने । बैठकमा आगामी दुई दिनपछि पुनः सचिवालय बैठक बस्ने र पार्टीभित्र र बाहिरका विषयहरूमा थप निर्णय लिने तयारी भएको जनाइएको छ । यसैगरी बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको बताए । उनले घोषित मितिमा चुनाव हुनुपर्ने बताउँदै आफ्नो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिने बताए ।
'माधव र विप्लवसँग पार्टी एकताका लागि सकारात्मक पहल'
माओवादी केन्द्रका संयोजक प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट, नेकपा (एकीकृत समाजवादी) र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि पहल भइरहेको ब्रिफिङ गरेका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा प्रचण्डले पार्टी एकता र ध्रुवीकरणको विषयमा ब्रिफिङ गरेका हुन् । यद्यपि उनले यादव नेतृत्वको नेसपा मात्र पार्टी एकताका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका छन् । यस्तै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग मोर्चाबन्दी गर्ने विषयमा छलफल भइरहेको जानकारी गाएको सचिवालय सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । ‘बैठकमा पार्टी एकता र ध्रुवीकरणको विषयमा सबै वामपन्थी दल र माओवादी घटकसँग कुरा भइरहेको जानकारी गराउनुभयो । तर फइनल भएको छैन भन्नुभयो । विप्लवजीको पार्टी, माधवजीको पार्टी, महिन्द्र रायजीको पार्टी एकता गर्ने र अशोक राईजी लगायत दलहरूसँग मोर्चावन्दी र ध्रुवीकरण गर्ने विषयमा कुराकानी भइरहेको जानकारी गराउनुभएको छ । अहिलेसम्म नेसपा मात्र एकताका लागि तयार भएको छ’, उनले भने । असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको छ ।सो पार्टीले असोज २५ गते केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । एकताबारे छलफल गर्न एकीकृत समाजवादीले असोजको अन्तिम हप्ता केन्द्रीय समिति बैठक बोलाएको छ । माओवादी महाधिवेशन आयोजक समितिको सचिवालय बैठक दुई दिनपछि बस्नेछ ।