जेनजी घाइतेहरूलाई परिचयपत्र वितरण, घाइतेहरूले के भने ?

आइतबार, असोज १९, २०८२

काठमाडौं । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई सरकारले घाइते परिचयपत्र वितरण गरेको छ । आइतबार तीनजना घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टरमा परिचयपत्र वितरण गरिएको हो । घाइते परिचयपत्र वितरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता मुक्तिराम रिजालले हालसम्म ५६ जना घाइतेलाई परिचयपत्र वितरण गरिएको जानकारी दिए । ‘अस्पतालमा उपचाररत, घरमै बेड रेस्टमा रहेका र आउन सक्ने अवस्थाका आन्दोलनकारीहरूलाई परिचयपत्र वितरण गरेका छौं’, रिजालले भने, ‘सबैलाई गरेर ५६ जनालाई अहिलेसम्म नेपाल सरकारको निर्णय भए अनुसार २० हजार रुपैयाँ राहत र घाइते परिचयपत्र वितरण गरेका छौं । आइतबार ट्रमा सेन्टरमा तीन जनालाई घाइते परिचयपत्र वितरण गर्‍यौं ।’ उनका अनुसार आइतबार मात्र ट्रमा सेन्टरमा थप तीन जनालाई घाइते परिचयपत्र वितरण गरिएको छ । यस्तै, अन्य घाइतेहरूले जानकारी गराएअनुसार उनीहरूलाई पनि चाँडै कार्ड वितरण गर्ने तयारी भइरहेको छ । सरकारले आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, राहत र पहिचानका लागि परिचयपत्र वितरण थालेको हो । जेनजी घाइते कार्ड पाएपछि घाइतेहरूले अन्तरिम सरकारले सोचे अनुसार काम गर्न नसकेको दुखेसो व्यक्त गरे । उनीहरूले देशभर सयौं घाइतेहरू उपचाररत रहे पनि सरकारले ध्यान नदिएको बताए । जेनजी घाइते कार्ड वितरणमा जेनजी डाक्टर जगत विकले समन्वय गरिरहेका छन् । उनले आफूले नै कार्डको अवधारणा ल्याएको दाबी समेत गरे । 
 

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार