विघटन भएपनि एमाले एकता कार्यदलका सदस्य छलफलमा जुटे 

दशबुँदेका आधारमा पार्टीलाई एकताबद्ध बनाउन सहमत
शनिबार, साउन २, २०७८

काठमाडौँ । नेकपा (एमाले)का युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालिएको हो ।  संसदीय दलका उपनेता सुवास नेम्बाङले नयाँ सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढाएर पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको जानकारी दिए । कार्यदलले  सहमति पार्टी अध्यक्ष  ओली र वरिष्ठ नेता नेपाललाई बुझाइसकेको छ । पार्टीभित्र देखिएका विवाद समाधान गर्नका लागि गठित कार्यदलले गत असार २७ गते १० बुँदे सहमति गर्दै पार्टीलाई एकताबद्ध बनाउने निर्णय गरेको थियो ।  पार्टी सचिव गोकर्णराज विष्टले नयाँ सहमतिका आधारमा पार्टी एकता बचाउनका लागि छलफल गरिएको बताउनुभयो ।“एमालेलाई एकताबद्ध गर्न आमपार्टीपङ्क्ति चिन्तित  छ”, उनले भने, “पार्टीप्रति कार्यकर्तामा देखा परेको अन्योल र चिन्ता दूर गर्नका लागि पार्टीलाई फेरि पनि एकताबद्ध बनाउन सन्देशका लागि भेटघाट गरेको हौँ ।” छलफलमा पार्टी उपाध्यक्ष डा. भीमबहादुर रावल, उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, सचिव प्रदीपकुमार ज्ञवाली, भीमप्रसाद आचार्य र पृथ्वीसुब्बा गुरुङलगायत सहभागी थिए । 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार