जेन जी आन्दोलनपछि विदेशी मुलुकहरूले नेपाली कामदारलाई भिसामा कडाइ गर्ने चिन्ता

आइतबार, असोज १९, २०८२

काठमाडौं । जेन जी आन्दोलनका क्रममा सरकारी संरचनासँगै निजी व्यवसायमाथि भएका तोडफोड तथा आगजनीका घटनाको असर वैदेशिक रोजगारीको अवसरमा समेत पर्ने व्यवसायीहरूले चेतावनी दिएका छन् । तोडफोडका गतिवितिमा नेपाली युवाहरू संलग्न भएको देखेर गन्तव्य मुलुकहरू भिसा दिने काममा कडाइ गर्न सक्ने उनीहरूले बताएका हुन् । आन्दोलनपछि खास गरी संयुक्त अरब एमिरेट्स यूएईले कतिपय नेपालीको भिसा अस्वीकृत गर्नु त्यसैको एउटा कडी भएको अधिकारीहरूले समेत स्वीकारेका छन् । नेपालबाट हाललाई पर्यटक वा कामदार भिसामा नपठाउन यूएईका व्यवसायीहरूले इमेल पठाउन थालेको एक नेपाली व्यवसायीले बताए।

नकारात्मक सन्देश

भिसा लिएर बसेका कतिपय नेपालीहरू पनि जान थालेपछि विस्तारै सङ्ख्या बढ्ने उनी बताउँछन् । नेपाल उद्योग वाणिज्य महासङ्घको प्रारम्भिक आकलन अनुसार आगजनी तथा तोडफोडका घटनाबाट निजी क्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनाहरूमा पुगेको क्षतिका कारण १५ हजारभन्दा बढीको रोजगारी प्रभावित भएको महासङ्घको प्रारम्भिक अनुमान छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता मेघनाथ रिमालका अनुसार वैदेशिक रोजगारमा जाने नेपालीहरूको सङ्ख्या अहिले नै बढिसकेको दखिएको छैन ।

अध्ययनमा सरकार

जेन जी आन्दोलनपश्चात्‌ सेप्टेम्बर १० देखि सेप्टेम्बर २२ सम्म अर्थात्‌ १० दिनको अवधिमा २९ हजार जनाले श्रम स्वीकृति लिएको उनले बताए । यद्यपि पछिल्लो आन्दोलनको असर वैदेशिक रोजगारमा कस्तो पर्छ भन्ने कुरा अहिले नै बताउन गाह्रो रहेको रिमाल बताउँछन् । "अहिले नै अनुमान गर्न सक्ने अथवा यस्तो अवस्था हो भन्न सक्ने स्थिति छैन। हामी पनि छलफलकै क्रममा छौँ र अध्ययनकै क्रममा रहेकाले यस विषयमा मन्त्रालयको आधिकारिक धारणा आइसकेको छैन," उनले अगाडि थपे । यूएईले हालै विभिन्न नौवटा देशका हकमा पर्यटक तथा कामदार भिसामा तत्कालका लागि प्रतिबन्ध लगाएको छ  सुरक्षालगायत कारण देखाउँदै प्रतिबन्ध लगाइएका देशमा दक्षिण एशियाका बाङ्ग्लादेश र अफगानिस्तान पनि रहेका छन् । उक्त सूचीमा नेपाल नपरे पनि जेन जी आन्दोलनपश्चात्‌ यूएईले कतिपय नेपालीहरूको भिसा अस्वीकृत गरेको सूचना पाइएको स्रोतहरूले पुष्टि गरेका छन्।

अनौपचारिक जानकारी

एकजना व्यवसायी तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका भूतपूर्व महासचिव मेघनाथ भुर्तेलले यूएईका व्यवसायीहरूले नेपाली नपठाउन भन्न थालेको बताए । "हामीसँग कारोबार गर्ने दुबईका क्लाइन्टहरूलाई पर्यटक र कामदार भिसा बन्द गरिएको भनेर औपचारिक रूपमै भनिसकिएको हामीलाई इमेल आएको छ," उनले भने । शुरूमा नेपाली क्रिकेटरहरूको भिसा आउन ढिलाइ हुनु त्यसैको कारण भएको भुर्तेलको तर्क छ। नेपाल क्रिकेट सङ्घ क्यानले पहल गरेपश्चात्‌ नेपाली खेलाडीहरूले पछि भिसा पाएका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिजको राष्ट्रिय टोलीसँग खेल्नका लागि शारजाह जान लागेको थियो । कतार र मलेशियाले पनि हाललाई प्रतिबन्ध लगाउन लागेका हल्ला आफूहरूले सुनेको भुर्तेलले बताए। यद्यपि आधिकारिक रूपमा त्यसबारे केही सुनिएको छैन । यूएई, साउदी अरब र कतार लगायतका खाडी मुलुकहरू खास गरी नेपाली अदक्ष तथा अर्धदक्ष कामदारहरूका लागि प्रमुख गन्तव्य मुलुकमा पर्छन् । ती देशहरूमा ठूलो सङ्ख्यामा नेपाली कामदारहरू रोजगारीका लागि जाने गरेका छन् । गत आर्थिक वर्षमा नौ लाख ३९ हजार नेपालीले श्रम स्वीकृति लिएकामा दुई लाख ६४ हजार व्यक्ति यूएई गएका सरकारी तथ्याङ्कले देखाउँछ।-बीबीसी

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  ११:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार