प्रधानमन्त्री सुशीला कार्कीद्धारा देशवासीका नाममा सन्देश (भिडियो)

सबैलाई सतर्क रहन अपिल 
शनिबार, असोज १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छन् । देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानका जोखिम बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै सबैलाई सतर्क र सावधान रहन अपिल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस्। तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो। आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्। हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं। तपाईं यसमा एक्लो हुनुहुन्न। राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन्।’
उनले अहिलेको परिस्थितिलाई चुनौतीपूर्ण समय भन्दै सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल अवस्थाका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीमा रहेको स्पष्ट पारिन् । प्रधानमन्त्रीले देशभर जारी भारी वर्षाका कारण नदी–नालाको बहाव उच्च सतर्कताको तहमा पुगेको र अझै दुई दिनसम्म वर्षा जारी रहने सम्भावना रहेको जानकारी दिँदै सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिन् । संभाव्य जोखिमलाई ध्यानमा राख्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको उनले जानकारी दिइन् । ‘हामी सबै उपलब्ध स्रोत परिचालन गरिरहेका छौं र राष्ट्रिय तथा स्थानीय निकायहरूसँग मिलेर काम गर्दैछौं। हामी यो जोखिमलाई मिलेर पार गर्नेछौं। नियमित अद्यावधिक सूचना र जानकारीहरू प्रसारण भइरहनेछन्। तपाईंहरू सबै सुरक्षित र सावधानीपूर्वक रहनुहोस्’ प्रधानमन्त्रीले भनिन् ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार