प्रधानमन्त्री कार्कीले बडादशैंको टीका–जमरा नलगाउने

सोमबार, असोज १३, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बडादशैंको टीका जमरा नलगाउने जानकारी गराएकी छन् । सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनका क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् ।  उनले भनेकी छन्, ‘बडादशैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ । तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दशैंको टीका जमरा नलगाउनु हुने र देशवासीहरूलाई सिमित टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ ।’ युवापुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिवद्ध रहेको एवम् देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि उनको भनाई छ ।  साथै, उनले यस सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भने कामना गर्दै मुलुकमा सुख शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्गल्प गरी देश विकासमा लाग्न सबैमा अपिल पनि गरेकी छन् ।  उनले बडादशैं २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना पनि व्यक्त गरेकी छन् । 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार