धनीलाई हरहमेशा दशैं, मागेर खानेलाई चाडपर्व आउँदैन कहिल्यै !

सोमबार, असोज १३, २०८२

अहिले सबैतिर दशैंको चहलपहल छ । हिन्दू नेपालीको महान् पर्व दशैंका लागि आवश्यक सामान किन्नेको बजारमा भीड देखिन्छ । कोही लत्ताकपडा त कोही खसीबोका, च्याङ्गा किन्न हिँडेका छन् । मठमन्दिर दर्शन गर्न जानेको उत्तिकै चाप छ । कुनै चाँहि दशैं मनाउन आफ्नो थातथलो फर्किरहेका छन् ।  पैसा हुनेहरूका लागि जहिले पनि दशैं नै हो । तर, गरिबहरूले वर्षमा एक चोटि आउने दशैं पनि राम्रोसँग मनाउन पाउँदैनन् । बाटा, मठमन्दिरमा मागेर खानेहरूले न दशैंमा एक छाक मिठो खान पाउँछन् न लाउन । भुरादेखि बुढासम्म सडकमा माग्न बसेका छन् । ससाना बालबालिकाहरू फोहोर टिपेर हिँडिरहेको देखिन्छ ।  बिहान बेलुका खान त नपाउनेलाई केको दशैं ? उनीहरूलाई न कहिले दशैं आउँछ न अन्य चाडपर्व । विडम्बना, त्यस्तालाई सरकारले पनि देख्दैन । विशिष्ट व्यक्तिहरू जस्तै कि, राष्ट्रपति, प्रधानमन्त्री, ठूल्ठूला व्यापारीहरू दशैंमा पूजाआजा गर्न मन्दिर जान्छन् । उनीहरू आउने भन्नेबित्तिकै मागेर खानेहरूलाई सडकबाट लखेटिन्छ ।  उनीहरूलाई व्यवस्थापन गर्ने कि लखेट्ने ? हरेक नागरिकको अभिभावक सरकार हो । सबै नागरिकको सराबरी अधिकार छ । मागेर खानेहरू पनि यहीँ देशको नागरिक हुन् । राष्ट्रपति, प्रधानमन्त्रीले उनीहरूलाई देख्न नहुने हो ? गरिबको नाम बेचेर कमाउने यहाँ धेरै छन् । एनजिओहरूले गरिबको नाममा विदेशबाट डलर ल्याएर खाएका छन् । 
थुप्रै कलाकारले गरिबीको विषयमा गीत गाएका छन् । उनीहरू चर्चामा आएका छन्, कमाएका छन् । तर, गरिब जहाँको त्यहीँ छ । उनीहरूको समस्या ज्युँको त्युँ छ । काँग्रेस–एमालेले बाठाटाठाले मात्र खाए, जनताले केही पाएनन् भनेर पञ्चायती व्यवस्थाको विरोध गर्‍यो ।  २०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्थाले पनि सर्वसाधारणको अवस्था नफेरिए पनि माओवादीले ४१ सूत्रीय माग राखेर २०५२ फागुन १ गते हतियार उठायो । १० वर्षमा १७ हजार नेपाली शहीद भए । हजारौं अंंगभंग र घाइते भए ।  बेपत्ता हुनेको संख्या पनि हजारौंमा छ । २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य भएर देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । लोकतन्त्र गणतन्त्रको पहिलो राष्ट्रपति रामवरण यादव र पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल भए । जनताको छोराछोरी सत्तामा गएपछि जनताको लागि काम गर्छन् भन्ठानिएको थियो । 
तर, जनताको अपेक्षा बारम्बार चक्नाचुर भएको छ । यादवपछि विद्यादेवी भण्डारी र रामचन्द्र पौडेल राष्ट्रपति बने । तर, जनताले के पाए ? केही न केही । गरिबको लागि न हिजोको सरकार थियो न आजको । जनताको छोराछोरी राष्ट्रप्रमुख भएपछि गरिबको लागि काम गर्छन् ।  उनीहरूलाई हेर्छन् भन्ने आश राखिएको थियो । यद्यपि, त्यस्तो केही पनि भएन । नेताहरू सुःखसयल र विलासितामा रमाउँदै गए । हिजो झुपडीमा बस्ने नेताहरू आज महलमा बस्ने भए, जनताको शिरबाट छतसमेत खोसियो । दैनिक तीन हजार जनता रोजगारीका लागि विदेश गइरहेका छन् ।  भदौ २३ र २४ गते जेनजी प्रदर्शन भयो । जनताको नाम बेचेर आएका नेताले जनताको लागि काम गरेका रहेछन् कि आफ्नो लागि ? आन्दोलनबाट प्रष्ट भयो । काँग्रेस सभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाले सर्वसाधारणलाई आश्चर्यचकित बनाएको छ । उता, उनको घरमा मँहगा रक्सी पनि भेटिएको थियो । 
घर पनि कुनै महलभन्दा कम थिएन । दशौं रोपनी जग्गामा बनेको भव्य महलमा उनले जीवन बिताइरहेका थिए । उता, माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरमा पनि पैसा भेटिएको कुरा छ । प्रचण्डको हातमा ७८ लाखको घडी छ । जनयुद्धबाट आएको नेताले ७८ लाखको घडी बाँध्न सुहाउँछ ?  एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा सुनको हात्ती नै भेटिएको भनिएको छ । ओलीको बालकोटस्थित घर पनि दशौं रोपनीमा थियो । ओली दिनको ७० हजारको विदेशी पानी खान्छन् । उनको नाडीमा तीन करोडको घडी बाँधिएको छ । सात लाखको कोट र डेढ लाखको जुत्ता लगाउँथे भनेर बजारमा खुब चर्चा छ ।  यिनीहरूले जनताको रगतपसिनामा मोज गरे । जनताले तिरेको कर र विदेशी ऋण यिनीहरूले झ्वाम्म पारे । रेमिट्यान्समा पनि उनीहरूकै मोजमस्ती चल्यो । नेपालीको भूभाग छिमेकीलाई बेचेको रकम पनि पचाए । तर, जनताले केही पाएनन् । जनता त पञ्चायती व्यवस्थामा पनि मागेरै खान्थें, यो व्यवस्थामा पनि मागेरै खाइरहेका छन् ।
परिवर्तन नेताहरुको लागि मात्र आयो । जुनसुकै व्यवस्था आए पनि जनताको जीवनयापन फेरिएन । नेता र जनप्रतिनिधि सार्वजनिक काम गर्छौं भन्छन् । जनताले तिरेको कर खाने, सरकारी गाडी चढ्ने, घुस खाने अनि सार्वजनिक काम भन्ने ? जथाभावी बोल्न अलिकति पनि लाज लाग्दैन ? 
गृहमन्त्री, पराराष्ट्रमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका केपी शर्मा ओली यतिबेला भक्तपुरको गुण्डुमा आएर बसेका छन् । आफ्नो घमण्ड र अहंकारले पद छोड्नुपर्ने अवस्थामा पुगेका ओलीको अहिले पनि चेत खुलेको देखिँदैन । गुण्डाको घेरामा हिँडेपछि उनको र एमालेको पोलिटब्यूरो सदस्य तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतको चर्को विरोध भइरहेको छ । 
पटकपटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई के गर्नुहुन्छ ? के हुँदैन ? भन्ने कुरा थाहा हुनुपर्छ कि पर्दैन ? उनलाई सारा दुनियाँले हेरिरहेको छ । यदि त्यति नै ज्यानको खतरा छ भने उनले सरकारलाई भन्नुपर्‍यो । अपराध गरेर जेलमा बसेको व्यक्तिलाई त सरकारले सुरक्षा दिन्छ भने उनी त बारम्बार देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । 
उनी गुण्डैगुण्डाको बीचमा हिँड्दा समाज त्रसित बनेको छ भने गुण्डागर्दी गर्नेह्रूले प्रश्रय पाएका छन् । जनताको ठूलो अपेक्षा केही छैन । गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र विकास, जनताको आशा यति नै हो । त्यसकै लागि जनता पटकपटक लडेका हुन् । 
सरकारी कर्मचारीलाई जति तलब दिएपनि पुग्दैन । उनीहरू कहिल्यै घुस खान छाड्दैनन् । नेताहरू जनताको नाम बेच्छन्, व्यक्तिगत सम्पत्ति जोड्छन् । व्यापारीहरू राजश्व तिर्दैनन् तर ठूल्ठूला कुरा गर्छन् । जोपनि देश र जनता लुट्ने अनि आफू मोटाउने । देशलाई ऋण लगाएर आफू मोजमस्ती गर्नेमा नेता, कर्मचारी र व्यापारी छन् । 
यता, जनता पनि ठग भए । जनता पनि राज्यको सम्पत्ति दोहन गर्नेमा पर्छन् । छोराछोरीले महिनाको लाखौं कमाउँछन् तर चार हजार भत्ता बुझ्न वडामा पुग्छन् । उनीहरूले त्यो नलिने हो भने नहुनेले पाउँथे । विकासमा खर्च गर्न सकिन्थ्यो । सबैले यहाँ लिन जाने, दिन जानेनन् । 
गरिबी झन्झन् बढदै गएको छ । धनी त धनी छँदैछन्, गरिब झनै गरिब हुँदै गएका छन् । गरिबीले आत्महत्याको दर बढाउँदै लगेको छ । दशैंको बेला छ, सबै आफ्नो घरमा रमाइलो गरिरहेका छन् । उनीहरू खान नसकेर टोकरीमा लगेर फ्याक्छन् तर गरिबलाई दिँदैनन् । आफ्नो घरमा कोही माग्न आयो भने निस्किँदै निस्किदैनन् । 
जनताहरू अलिकति सचेत भइदिने हो भने गरिबले पनि दशैं मनाउन पाउँथे । मान्छेले पढेर मात्र हुँदैन, व्यवहारिक ज्ञान पनि सिक्नुपर्छ । अरुलाई अलिकति दिँदैमा कसैको सम्पत्ति सकिँदैन । 

 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार