सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै युवा समाज मोरङ १६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा युवा समाज मोरङले मछिन्द्रलाई सडेनडेथमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको हो । निर्धारित समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको हो । पेनाल्टीमा पनि दुवै टिमबाट ४–४ गोल भएपछि खेल सडेनडेथमा गएको हो । सडेनडेथमा मछिन्द्रका युवराज ढकालले गोल गर्न सकेनन् । त्यसपछि निर्णायक प्रहार गर्न आएका पदम भटराईले गोल गरेपछि युवा समाज उपाधि नजिक पुगेको हो । त्यसअघिको पेनाल्टीमा मछिन्द्रका रोहित चन्द, दिपेश गुरुङ, देबेन्द्र तामाङ र तुसार विश्वकर्माले गोल गर्दा सनिस श्रेष्ठको प्रहार पोलमा लागेर बाहिरिएको थियो । युवा समाजका रामचन्द्र वाजी, विशाल तामाङ, शिशिर लेखी र सृजनराज गौतमले गोल गर्दा कप्तान सुजन चौधरीको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो । त्यसअघिको निर्धारित समयको १३ औ मिनेटमा मछिन्द्रका प्रदिप बुढाथोकीले गोल गरेर टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । सौरब लिम्बुले प्रहार गरेको कर्णर बललाई उनले हेड मार्फत गोल गरेका थिए । १६ औँ मिनेटमा प्रदिपले नै थप अर्को गोल गरेपछि मछिन्द्रले २–० को अग्रता लिएको थियो । गोलकिपर प्रमञ्जय गच्छदार अघि बढेको मौकामा उनले प्रहार गरेको बल गोलपोष्टको लाइनमै रहेका विपक्षी डिफेन्डरले क्लियर गर्न नसक्दा मछिन्द्रले अग्रता दोब्बर बनाएको थियो । खेलको २२ औँ मिनेटमा युवा समाजका जन्म जय धामीले गोल फर्काएपछि खेल २–१ को अवस्थामा आयो । पदम भटराईले दिएको पासलाई कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै धामीले बललाई पोस्टको दिसा दिएका थिए । पहिलो हाफको अन्तिम तीन मिनेटको अतिरिक्त समयमा युवा समाजका सुजन डंगोलले गोल गरेपछि खेल २–२ को बराबरीको अवस्थामा आयो । सृजनराज गौतमले दिएको लामो पासलाई डंगोलले आकर्षक हेड गोल गरे । पहिलो हाफ २–२ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफको २४ औँ मिनेटमा पदम भटराईले गोल गरेपछि मोरङको टोली ३–२ को अग्रतामा लिँदै खेलमा पुनरनगमन गर्यो । तर अन्तिम चार मिनेट सम्हालिन नसक्दा युवा समाजले जीतका लागि पेनाल्टी सुट आउट हुँदै सडेनडेथसम्म कुर्नुप¥यो । दोस्रो हाफको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा देबेन्द्र तामाङले गोल फर्काएपछि खेल ३–३ को बराबरीमा आयो । त्यसपछि खेलको निर्णय पेनाल्टी सुट आउट हुँदै सडेनडेथमा पुगेको हो । खेलको प्लेयरअफद म्याच पदम भटराई घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए । शनिबारको अन्तिम सेमिफाइनल खेलमा सात दोबाटो युथ क्लब ललितपुर र प्लानिङ ब्वाइज काडमाण्डौबिच खेल हुनेछ । राष्ट्रिय जागृति क्लबले आयोजना गरेको खेलको फाइनल विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । फाइनल खेल वैशाख ७ गते हुनेछ ।