डाइजेष्टिभ बिस्कुटमा रौँ भेटिएसँगै दुई लाख जरिवाना, सात दिनभित्र जम्मा गर्न आदेश

शनिबार, वैशाख ५, २०८३

काठमाडौं । डाइजेष्टिभ बिस्कुटमा रौँ भेटिएको उजुरी पुष्टि भएपछि सम्बन्धित उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गर्दै सात दिनभित्र रकम जम्मा गर्न आदेश दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा गरिएको निरीक्षण तथा अनुसन्धानका क्रममा उक्त बिस्कुटमा रौँ भेटिएको पुष्टि भएको हो । विभागले दुहबी, सुनसरीस्थित एरियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि.द्वारा उत्पादन गरिएको डाइजेष्टिभ नट्स नामक बिस्कुटको नमुना संकलन गरी थप परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर पठाएको जनाएको छ । अनुगमनका क्रममा उद्योगको उत्पादन प्रक्रिया र गुणस्तरमा कमजोरी देखिएको निष्कर्षसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरमार्फत उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उद्योगलाई रु. २,००,००० जरिवाना गरिएको हो । विभागले जरिवाना रकम सात दिनभित्र दाखिला गर्न निर्देशन दिँदै खाद्य वस्तुको गुणस्तरमा लापरबाही गर्ने उद्योगमाथि कडाइका साथ निगरानी जारी रहने स्पष्ट पारेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार