माओवादी केन्द्र भंग, मंसिरमा विशेष महाधिवेशन

शनिबार, असोज ११, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र अब महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ । साथै आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ । प्रज्ञा भवन कमलादीमा शुक्रबार सकिएको बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाका अनुसार केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका अधिकांश प्रस्तावहरु स्वीकृत पनि भएका हुन् । अध्यक्ष प्रचण्डको प्रतिवेदन परिमार्जन सहित पारित गरिएको हो । सो क्रममा अध्यक्ष प्रचण्डकै संयोजकत्वमा विशेष महाधिवेशन गर्ने निर्णय भएको सापकोटाले जानकारी दिए ।  प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए । जसलाई केन्द्रीय समितिले पारित गरेको हो ।  ‘जेनजी आन्दोलनलाई विकसित पारी यस स्थितीमा विशेष महाधिवेशन आयोजना गरिनेछ । केन्द्रीय समिति विगठन गरि आयोजक समिति बनाउने निर्णय भयो । अध्यक्षलगायत सबै पदाधिकारीहरुको व्यवस्था स्थगित गर्ने र महाधिवेशनमा जेनजी लगायत युवाहरुको अधिकतम सहभागिताको लागि वातावरण तयार पार्ने निर्णय भएको छ,’ सापकोटाले बताए ।  बैठकले पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय समेत गरेको छ । बैठकले जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने र युवाहरूलाई प्रथामिकता दिने निर्णय समेत गरेको छ । आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने, अन्य प्रस्तावहरुलाई समेटेर अघि बढ्ने निर्णय पनि भएको छ । 

सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने  घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औल्याए । “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भने ।  संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव  पठाउन निर्देशन समेत दिएका छन् । 

जेन–जी प्रतिनिधित्वबारे अध्यक्ष प्रचण्ड
अब केन्द्रीय समिति बनाउँदा या वडा, पालिका समिति या प्रदेश समिति बनाउँदा पनि हामीले जेनजी  युवाहरुलाई प्राथमिकता दिनै पर्छ। अहिले हामीले दिएको पुगेन र अधिकतम् कति सकिन्छ हामी जेन्जीलाई ल्याउनु पर्ने हामी अरुले कति छोड्न पर्छ छोड्दा भयो किनभने राष्ट्र संकटमा परेको छ र यो संकटबाट राष्ट्रलाई पार लगाउनु छ त्यसकारण यो बारेमा पनि सबै कमरेडहरु सोच्न थाल्नु पर्यो । तपाईहरु आफ्नो आफ्नो एरिया भित्र आफ्नो आफ्नो जिम्मेवारी भित्र आफ्नो आफ्नो मोर्चा भित्र जेन्जी खोज्न पर्यो अलि गतिशील सक्रिय सक्षम त्यस्ता जेन्जीहरु लाई संगठित गरेर तिनीहरुलाई अगाडी ल्याउने साथै युवाहरुलाई उच्च प्राथमिकता दिनु पर्यो
सम्पत्ति छानबीन, नेपोटिज्म र जीवनशैलीबारे अध्यक्ष प्रचण्ड

यो केन्द्रीय समितिको सर्वसम्मत निर्णयको रूपमा सम्पत्ति छानबिन आयोग बन्नेछ, जसले मुख्यतः केन्द्रीय समितिका र पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्नेछ। विगतमा पनि हामीले सबैले पहिला सम्पत्ति विवरण प्रस्तुत गरौँ भन्यौँ तर कोही पनि प्रस्तुत गर्न रुचि राखिएन। अब त्यस्तो हुन सक्दैन, त्यसैले सम्पत्ति छानबिन आयोग बन्छ र त्यसले गम्भीर रूपले काम गर्नेछ
नेपोटिजमबारे पनि कुरा आएको छ। संसारभरि एउटा ट्रेन्ड चलेको छ—नेपोटिजम, अर्थात् नातावाद, कृपावाद, परिवारवाद, गुटवाद। आफ्ना गुटका मान्छेलाई छुट दिने र अरुलाई दण्ड दिने प्रवृत्ति पनि यसमै पर्छ। यो शब्द पश्चिमतिरबाट आएको हो र विभिन्न देशमा सत्ता परिवर्तन र युवाहरूलाई आन्दोलित गर्न सफलतापूर्वक प्रयोग भएको छ। नेपाल पहिलो होइन, अन्तिम पनि होइन। यो इन्टरनेशनल ट्रेन्डको रूपमा आएको हुँदा हामीले यसको महत्त्व र संवेदनशीलतालाई मिनिमाइज गर्न मिल्दैन। त्यसैले परिवार व्यवस्थापन, सचिवालय व्यवस्थापन, कार्यकर्ता व्यवस्थापनलगायतका सबै विषयमा पुरानो तरिका छाडेर नयाँ कार्यविधि र नयाँ कार्यशैलीतर्फ जानै पर्छ। नेपोटिजमको अनुभवबाट शिक्षा लिएर नयाँ ढंगले अघि बढ्नु हाम्रो प्रस्तावको स्पिरिट हो
जीवनशैली, कार्यशैली, सांस्कृतिक आचरण र अभिव्यक्तिहरूलाई निश्चित संहिताभित्र ल्याउन सकिन्छ भन्ने हाम्रो विश्वास छ। जेन्जी आन्दोलनको प्रभावले हामीलाई जीवनशैली, कार्यशैली, कार्यालय व्यवस्थापन, हेडक्वाटर र विभिन्न स्तरका कार्यालयमा स्टाफ व्यवस्थापनबारे नयाँ सोच्न बाध्य पारेको छ । नीतिगत रूपमा यो प्रस्तावमा पारिसकेको छ। अब यसको ठोस र व्यवहारिक रूप निर्धारण गर्नुपर्छ र यो प्रक्रिया यो बैठक सकिएपछि नै सुरु गर्नुपर्नेछ। अब नेतृत्व, पदाधिकारी लगायतले कस्तो बन्ने, के खाने, कस्तो देखिने भन्ने विषयमा पनि सोच्न जरूरि छ। हाम्रो जीवनशैली कस्तो हुनेरु  म यसबारेमा लिखित सुझाव दिन सबैमा आग्रह गर्दछु ।

माओवादी केन्द्रको सातौ‌ पूर्ण बैठकका निर्णय 

  • केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने । 
  • पार्टीभित्रका नेता(कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने । 
  • नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने । 
  • जेन–जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने । 
  • आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने । 
  • अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
  • विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।
  • बैठकले अध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गरेको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा “प्रभाकर”ले प्रस्तुत गर्नुभएको पार्टी रूपान्तरण सम्बन्धी महत्वपूर्ण विषयहरू समावेश गर्ने ।
  • बैठकले जनयुद्ध, जनआन्दोलन, जेन–जी विद्रोह लगायतका सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेको छ। बैठकले जेन–जी विद्रोहको भावनालाई सम्मान गर्दै पार्टीलाई शुद्धिकरण र पुनर्निर्माण गर्ने ।
  • पार्टीको केन्द्रीय समिति भंग गरिएको छ । आगामी मंसीर मसान्तभित्र पार्टीको विशेष महाधिवेशन गर्ने गरी कमरेड प्रचण्ड संयोजक रहने गरी महाधिवेशन आयोजक समिति र आयोजक समितिको सचिवालय गठन गर्ने ।
  • विचार मिल्ने माओवादी धारा एवं वामपन्थी पार्टीहरूबीच एकता गर्ने। एकताको प्रक्रिया तत्काल अगाडि बढाई विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा सम्पन्न गर्न जोड गर्ने। तर, निर्धारित मितिभित्रै विशेष महाधिवेशन गर्ने ।
  • अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनका पक्षमा उभिँदै निर्वाचन सफल पार्न पार्टीको तर्फबाट भूमिका खेल्ने निर्णय भएको छ। बैठकले फागुन २१ गतेको निर्वाचन हुन नदिने प्रवृत्तिका विरूद्ध संघर्ष गर्दै निर्वाचनका पक्षमा वातावरण बनाउने ।
  • आसन्न निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाउने, समानुपातिक निर्वाचन प्रणालीका पक्षमा उभिने र विज्ञहरूबाट मन्त्री बन्ने कुरालाई राष्ट्रिय मुद्दाका रूपमा उठाउने ।
  • बैठकले पार्टीका नेताहरूको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगले जनस्तरबाट समेत सुझाव लिएर छानविनका आधारमा दोषीमाथि कार्वाहीको सिफारिस गर्ने ।
  • जेन–जी आन्दोलनले उठाएको “नेपोटिज्म”को विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ । बैठकले कार्यविधि बनाएर नेता–कार्यकर्ताका परिवारको जिम्मेवारी र जीवनशैलीबारे निर्णय लिनेछ ।
  • पार्टी केन्द्रीय कार्यालय र पार्टी नेताहरूको सचिवालयमा परिवारका सदस्यहरू नराख्ने र प्रविधिमैत्री जनशक्ति राख्नेबारे निर्णय भएको छ। महाधिवेशन आयोजक समितिको सचिवालयले कार्यविधि बनाएर उक्त निर्णय लागू गर्नेछ ।
  • पार्टीका सबै कमिटीहरूमा जेन–जीको प्रतिनिधित्व गराउने निर्णय गरेको छ। विशेष महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा युवाहरूको प्रतिनिधित्व बढाउने निर्णय भएको छ ।
  • नेतृत्व हस्तान्तरणको प्रश्नमा बैठकमा महत्वपूर्ण बहस भएको छ। बैठकले आगामी महाधिवेशनबाट विधिसम्मत ढंगले नेतृत्व विकास, हस्तान्तरण र पार्टीमा नयाँ क्रमभंग गर्ने ।
  • पार्टी कमिटीहरू प्रविधिमैत्री बनाउने, अभिलेखीकरणको काम व्यवस्थित गर्ने ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार