माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, पुस्तान्तरणको वहस कहाँ पुग्यो

शुक्रबार, असोज १०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक बिहान ९ बजेदेखि बसेको हो । हिजो पहिलो दिनको बैठक भने तनावपूर्ण बनेको थियो । नेताहरू भ्रष्ट भएकै कारण माओवादी पार्टी कमजोर बनेको विषय उठेपछि बैठकमा हात हालाहालको स्थिति निम्तेको थियो ।   केन्द्रीय समिति बैठकमा प्रचण्डलाई विशेष महाधिवेशन अगाडि नेतृत्व छाड्न दबाब बढेको छ। वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले फरक प्रस्ताव पेस गरे पनि अधिकांश सदस्यले प्रचण्डको प्रस्तावलाई समर्थन गरेका छन् । मंसिरका लागि प्रस्तावित विशेष महाधिवेशन अगाडि नै नेतृत्व छाड्नुपर्ने दबाबमा रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बहुमत केन्द्रीय सदस्यले साथ दिएका छन् । बिहीबारबाट प्रज्ञा भवन कमलादीमा सुरु भएको सातौँ केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गरी आफ्नै नेतृत्वमा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । कसैलाई टीका लगाएर नेतृत्व निर्माण नहुने स्पष्ट सन्देश उनले दिएका थिए ।  तर उनको प्रस्तावलाई चुनौती दिँदै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले फरक प्रस्ताव पेस गरेका थिए । श्रेष्ठले जेनजी विद्रोहपछि अहिलेकै नेतृत्वबाट पार्टीको साख नरहने भन्दै कार्यवाहक दिएर जाँदा राम्रो सन्देश जाने प्रस्ताव गरेका थिए । यस्तै फागुनमा सरकारले मध्यावधि निर्वाचन घोषणा गरेकाले मंसिरमा महाधिवेशन सम्भव नभएको श्रेष्ठले बताएका थिए । यता उपमहासचिव शर्माले वर्तमान पदाधिकारी सबैले राजीनामा दिएर निर्देशक समिति बनाउन र युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।  तीन वटै प्रस्तावमाथि माओवादीले १० वटा समूह बनाएर छलफल गरेको थियो । सबै समूहका अधिकांश नेताले प्रचण्डको मूल प्रस्तावलाई समर्थन गरेका छन् । श्रेष्ठ र शर्माको प्रस्तावलाई करिब एक तिहाइले समर्थन गरेको नेताहरूले बताएका छन् । आज शुक्रबार समूहगत छलफलबाट आएका निष्कर्ष टोली नेताले ब्रिफिङ गरेपछि पार्टी नेतृत्वले जबाफ दिने र त्यसपछि बैठक सकिने छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार