सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ । एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।
१० बुँदे कार्यान्वयन गर्दै कार्यदल विघटन नेकपा एमालेको स्थायी कमिटी बैठकले विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरुले तयार पारेको सहमतिको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रवक्ता प्रदीप ज्ञवालीले प्रस्तावलाई बैठकले अनुमोदन गरेर कार्यान्वन गर्ने निर्णय गरेको जानकारी दिए। ‘सहमति कार्यान्वन गर्ने प्रस्तावलाई अनुमोदन र कार्यान्वयन गर्ने निर्णय भएको छ’ उनले भने। बैठकले कार्यादको सुझावलाई पारित गर्दै कार्यदल नै विघटन गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै परमादेशबाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने निर्णय अनुचित भएको एमालेको ठहर छ। ज्ञवालीले अदालतको उक्त फैसलाले अदालतमाथिको विश्वसनियताको प्रश्न उठेको बताए। ‘प्रतिनिधिसभाको पुनर्स्थापनाको फैसला र एमालेको सरकारलाई परमादेशबाट हटाउने फैसलालले अदालतमाथिको विश्वसनीयतामाथि प्रश्न उठाएको छ’, उनले भने । राजनीतिक विषयमा अदालतले अधिकतम संवेदनशिलता अपनाउनको सट्टा दावी नै नगरिएका विषयमा पनि फैसला गरेकाले फैसला अनुचित भएको उनको भनाइ छ। यद्यपि, फैसला कार्यान्वयन भएर ओली सरकारबाट बाहिरिएको ज्ञवालीले बताए । बैठकमा ओली सरकारको कार्यकाल सफल भएकोमा धन्यावाद ज्ञापन गरिएको थियो । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बैठकलाई रोकेर पुनः संवादमार्फत समस्या समाधान गर्नुपर्ने आग्रह गरे पनि ओलीले अस्वीकार गरेका थिए । नेपाल पक्षका भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य लगायतका नेताहरु आजको बैठकमा पुगेका थिए। उनीहरुले आजको बैठक रोक्न आग्रह गरेका थिए। उक्त आग्रहलाई ओलीले अस्वीकार गरेको रावलले जानकरी दिए । रावलले आफूले ओलीलाई पार्टीको विवाद समाधानका लागि शिर्ष तहमा छलफल गर्नुपर्ने बताए पनि ओलीले अस्वीकार गरेको बताएका छन्। यस्तै, ओलीले आजै ३ बजे संसदीय दलको बैठक बोलाएका छन्। नेपाल समूहले उक्त बैठकलाई पनि रोक्न आग्रह गरेको भए पनि बैठक नरोकिने ओली पक्षका नेताहरुको भनाई छ। संसदीय दलमा ओलीले अब संसदमा कसरी प्रस्तुत हुने भनेर रणनीति बनाउने तयारी गरेका छन् ।