सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनका लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एंव कानूनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । उनले भने, ‘जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय भएको छ । साथै असोज १ गते शोक दिवस मनाउनका लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरिएको छ ।’ यस्तै, उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्च वापत् ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत् वितरण गर्ने निर्णय भएको पनि जानकारी दिएका छन् । जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् । साथै, आजको बैठकबाट आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय पनि भएको छ । प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो । कानून मन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजीको आन्दोलनमा भएका घटनाको छानविन गर्न न्यायिक समिति गठन गर्ने निर्णय गरेको हो । उनका अनुसार समिति पूर्वन्यायाधीशको अध्यक्षतामा हुनेछ । सबै क्षति भएको निजी तथा सार्वजनिक संरचनाको पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गर्ने र उक्त कोषमा रकम जम्मा गर्नका लागि सबैलाई आह्वान गर्ने बैठकले निर्णय गरेको छ । जेनजी जागरण स्मारक पार्क निर्माण गर्ने योजना निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।