प्रधानमन्त्री कार्कीलाई माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दिए ६ बुँदे सुझाव

घोषित मितिमा निर्वाचन गराउन दबाब

सोमबार, भदौ ३०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ बुँदे सुझाव दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सुझाएका छन् । सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिने पनि उनले बताएका छन् । पहिलो बुँदामा श्रेष्ठले छिटो राजनीतिक दलहरू भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिन सुझाव दिएका छन् । 
सम्माननीय प्रधानमन्त्रीज्यू,
तपाईं प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईंलाई फोन मार्फत बधाई, शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ । तपाईंको फोन सम्पर्क हुन सकेन । तपाईंको नियमित सम्पर्कमा तपाईंसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यसअघि नै सार्वजनिक गरिसकेको छु । तर तपाईंलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको  माध्यम मार्फत केही महत्वपूर्ण सुझावहरू दिन चाहान्छु ।
एक, तपाईंले छिटो राजनीतिक दलहरू भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान, देशभक्त, स्वच्छ एवं क्षमतावान व्यक्तिहरूलाई  मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।
दुई, तपाईंले सम्पूर्ण ध्यान मुलुकमा शन्ति सुब्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् । 
तीन, भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानविन गरी दोशीहरूमाथि कारवाही गर्नुस ।
चार,  ध्वंस गरिएका संरचनाहरूको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।
पाँच, भ्रष्टाचारविरुद्ध हाम्रो सरकारले थालेका कारवाहीहरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।
छ, प्रतिनिधिसभा नरहेको अवस्थामा संघीय संसद्को भूमिका राष्ट्रिय सभाले खेल्ने भएकाले संसद्को आवश्यक भूमिका राष्ट्रिय सभामार्फत गर्न ध्यान दिइयोस् ।
सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं लोकरिझ्याईका अन्य छिटफुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईंको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ । अरु सबैले पनि यसप्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौं ।

Nara--1757922069.png
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार