मन्त्री नियुक्तिमा विवाद

‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन

सोमबार, भदौ ३०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजी पुस्ताले बालुवाटारमै प्रदर्शन गरेका छन् । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ नेतृत्वको समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि आइतबार साँझ प्रदर्शन गरेका हुन् ।  प्रदर्शनका क्रममा उनीहरूले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका थिए ।  प्रधानमन्त्री निवासको तीन नम्बर गेटअगाडि प्रदर्शनकारीलाई सम्बोधन गर्दै गुरुङले भने, ‘सबैभन्दा शक्तिशाली नेपाली जनता हो । हामीलाई कसैले रोक्न सक्दैन । जुन ठाउँमा हामीले राखेका छौँ, त्यही ठाउँबाट थुतेर निकालिदिन्छौँ ।’ आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान केही युवाको छ । जेनजीका अगुवा सुदन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने र नबने अर्को युवालाई पठाउनुपर्ने उनीहरूको माग छ । केही युवाले गुरुङका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् । आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार, ओमप्रकाश अर्याललाई कानुन तथा गृह र रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गर्ने निर्णय गरेपछि जेनजीमा विवाद चुलिएको हो । अन्य नाममा विवाद नगरेका उनीहरूले अर्यालप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार