नवनियुक्त तीन मन्त्रीले आज शपथ लिँदै 

सोमबार, भदौ ३०, २०८२

काठमाडौं । सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारका नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ।  राष्ट्रपतिको कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ अहिले बिहान ११स्३० बजे शपथ खुवाइने तय भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालय र कुलमान घिसिङलाई तीनवटा मन्त्रालय (भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय) को जिम्मेवारी दिँदै मन्त्रीमा नियुक्त गरेकी छन् ।  पदभार ग्रहण गरेकै दिन आइतबार प्रधानमन्त्री सुशीला कार्कीले तीन जनाको नाम र मन्त्रालयको जिम्मेवारीबारे आइतबारै राति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेकी थिइन् ।  जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकार प्रमुख (प्रधानमन्त्री) बनेकी छन् ।  तत्कालीन केपी ओली ओली नेतृत्वको सरकार विघटनसँगै राष्ट्रपति कार्कीलाई शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराएका थिए । सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारविरुद्ध भन्दै गत भदौ २३ गते जेनजी पुस्ताले काठमाडौँसहित देशका विभिन्न सरहरमा प्रदर्शन गरेका थिए । जेनजीको प्रदर्शनमा सरकारले दमन गर्दा प्रहरीको गोली लागेर काठमाडौँको बानेश्वरमा १७ जना र विराटनगरमा २ जना आन्दोलनकारी मारिएका थिए भने सयौँ घाइते भएका थिए । बानेश्वरमा गोलीचलेको भोलिपल्ट भदौ २४ गते प्रदर्शनकारीले नेताका घर, सार्वजनिक संस्था, व्यापारिक प्रतिष्ठान, संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतसमेत जलाइदिएका थिए ।  जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको छ । सयैं घाइते अस्पतालमा उपचाररत छन् । सरकारले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख क्षतिपूर्ति स्वरुप उपलव्ध गराउने निर्णय गरेको छ । घाइतेको निःशुल्क उपचारको पनि व्यवस्था सरकारले गरेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार