अस्पतालबाट जेनजीहरू भन्छन्, ‘हाम्रो सहभागिता बिना प्रक्रिया अघिबढे अर्को आन्दोलन’

शुक्रबार, भदौ २७, २०८२

काठमाडौं । गत सोमबारको आन्दोलनमा घाइते भएका जेनजीहरूले आफूहरूको सहभागिता बिना बार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । नक्कली जेनजी बनेर बार्ताको लागि पार्टीको मान्छे पठाइएको बताउँदै उनीहरूले आफूहरूको अनुपस्थितिमा भएका कुनै पनि निर्णय मान्य नहुने बताएका हुन् ।  आन्दोलनमा आठवटा गोली लागेर सिभिल अस्पतालमा उपचाररत रुपिन खड्काले असली योद्धाहरू सबै अस्पतालमा नै रहेको बताउँदै आफूहरूको सहभागिता विना गरिएको वार्ता स्वीकार्य नहुने धारणा राखे ।  उनले भने, ‘हामी असली योद्धाहरू सबै अस्पतालमा छौं । त्यसैले वार्तामा लगेर हाम्रो माग के हो भन्ने कुरा राख्न पाउनुपर्‍यो । अगाडि बढेर गोली खान तयार हुनेहरू बिना वार्ता गरेर कुनै औचित्य छैन् । मर्न नडराएर गोली थापेर आएका हामी हौं । आन्दोलन केका लागि थियो त्यो हामीलाई मात्रै थाहा छ ।’ उनले अन्य पार्टीका मानिसहरूले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेको बताउँदै उनले अहिले रियल जेनजीहरू एक हुन आवश्यक रहेको पनि सुनाए ।  ‘अन्य पार्टीका मानिसहरूले अहिले पार्टीभित्रकै युवा अघि सारेर प्रपञ्च मच्चाइरहेका छन् । यसलाई रोकेर हामी जेनजीहरू एक हुन आवश्यक छ । नत्र भने त्यही देशका नेताहरूले देश सखाप पार्ने अवस्था आउने छन् । त्यसको लागि पनि हामी एकदमै सर्तक हुुनुपर्ने आवश्यकता छ,’उनले भने   त्यस्तै अर्का घाइते नारायण श्रेष्ठले संसद् विघटन जसरी पनि हुनुपर्ने माग गरे । संसद् विघटन नभएदेखि आफूहरूले अस्पतालबाट निस्केर फेरि आन्दोलन सुरु गर्ने चेतावनी दिए ।  ‘मलाई पनि रवरको गोली लागेको थियो । हाम्रो खास माग भनेको संविधानसहित सबै परिवर्तन हुनुपर्छ भन्ने हो । त्यसकै लागि छातीमा गोली खाइ खाइ लडेका थियौं । अहिले न्यूज हेर्दा जेनजी भनौदाहरूले संविधान ठिक छ, हामीले गल्ती बोल्यौ भन्दैछन् । उनीहरूलाई जेनजी मान्दैनौ । विद्रोह गर्न तयार छांै । यो संसद् विघटन हुनुपर्छ । यो तपाईहरूले गलत निर्णय गर्नुभएको छ । आन्दोलन अझै रोकिँदैन । अस्पतालबाट निस्केपछि अझै आन्दोलन हुन्छ र संसद् विघटन हुनैपर्छ ।  उनले भने, ‘उहाँ(सुशीला कार्की) नै आए पनि त्यसमा विमति छैन । तर संसद् विघटन भएर प्रत्यक्ष रुपमा जनताबाट प्रधानमन्त्रीलाई भोट हाल्नुपर्छ । यो हाम्रो ठूलो माग हो । त्यसकै लागि लडेका हौं । यही संविधानलाई मान्नलाई होइन् । शान्तीपूर्ण आन्दोलन भइरहेको थियो, धेरै युवाहरू जुटेका थियौं । पहिलो दिनको आन्दोलनमा सबै जेनजीहरू नै थियौं । तर पुलिसको दमन सुरु भएपछि हिंसा भड्किएको थियो । मान्छे नै मारिएपछि अवस्था विग्रिएको हो ।’ त्यस्तै उनले मंगलबारको आन्दोलनमा सबै जेनजीहरूमात्र सहभागी नभएर अन्य पार्टीका मान्छेहरू संलग्न भएको बताए । सिंहदरवार जलाउने जेनजीको कुनै उद्देश्य नरहेको उनी बताउँछन् ।  ‘भोलिपटकको आन्दोलनमा जेनजी मात्र थिएनन् । सिंहदरवार जलाइयो, त्यो जलाउने हाम्रो उद्देश्य थिएन । सिंहदरवार जलाउन आन्दोलन गरेको होइनौं । रवि लामिछने निकाल्न हामीले आन्दोलन गरेका हैनौं । यो हेक्का रहोस् ।’ उनले आफूहरूले जेनजीहरूले अहिलेसम्म केही सुझाव नलिएको बताउँदै कुनै पार्टीमा नलागेको निष्पक्ष युवा नेतृत्वमा ल्याउन सुझाव दिए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार