बाढीपहिरो पीडितलाई राहतमा सहजीकरण गर्दै काँग्रेस       

शुक्रबार, साउन १, २०७८

काठमाडौँ । नेपाली काँग्रेसले देशका विभिन्न भागमा बाढी पहिरोलगायत विपत्का घटनाबाट भएको जनधनको क्षतिका तथ्याङ्क सङ्कलन तथा बाढीपहिरो पीडितलाई राहत कार्यमा सहयोग गर्न सक्रियता देखाएको छ । 
बाढी, पहिरो पीडितलाई राहत कार्यमा सहयोग पु¥याउने उद्देश्यले काँग्रेसले हालै गठन गरेको ‘बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समिति’ ले आज पूर्णता पाएसँगै कार्य शुरु गरेको हो । काँग्रेस केन्द्रीय समितिको यही असार ४ मा भएको बैठकले पार्टीका केन्द्रीय सदस्य, खेलकूद विभागका प्रमुख एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिलाई पूर्णता दिई काम शुरु गरिएको जनाएको छ ।
समितिको बैठकले पीडितलाई राहत उपलब्ध गराउने तथा विपत् व्यवस्थापन र सहजीकरणका लागि अवधारणा सरकारलाई बुझाउने जनाएको छ । समितिका संयोजक बस्नेतले नेपालमा वर्षेनी बाढी परिहलोलगायत विपद्जन्य घटना हुने भएकाले चालू आर्थिक वर्षदेखि हरेक वर्ष विपद्का घटनाको तथ्य सङ्कलन तथा राहत वितरणमा सहजीकरण गर्न समितिले निरन्तररुपमा काम गर्ने बताए ।  
यो वर्ष मनसुन शुरु भएयता हालसम्म देशका ३२ जिल्लामा ५६० पूर्ण र १५४ आंशिकरुपमा घरधुरी क्षति भएको तथा २९ जिल्लामा ५९ जना मानवीय क्षति भएको समितिले जनाएको छ । 
काँग्रेसले विपद्का घटनाका पीडित परिवारलाई जनही रु २५ हजार दिने घोषणा गरेको थियो । ‘अझै बाढी पहिरोको जोखिम कायमै रहेकाले राहत कसरी उपलब्ध गराउने, विपद्को सम्भावित जोखिम न्यूनीकरणमा सहयोग गर्ने भन्नेबारे समितिले स्पष्ट खाका तयार गर्नेछ, हामीमार्फत सहयोग गर्न विदेशमा रहेका नेपाली दाताले पनि चासो देखाउनुभएको छ, यसरी सङ्कलन हुने सहयोगलाई कसरी सही ढङ्गले परिचालन गर्ने भन्नेबारे निर्णय गर्छौं’, समितिका संयोजक बस्नेतले भने । 
समितिमा मनोनीत पदाधिकारी तथा सदस्यलाई संयोजक बस्नेतले मनोनयनपत्र वितरण गरेका  छन् । सहसंयोजकमा सांसद दिव्यमणिराज भण्डारी, सचिवमा केन्द्रीय सदस्य किरण गिरी र कोषाध्यक्षमा केन्द्रय सदस्य कल्पना चौधरी रहेकी छन् । समितिको सदस्यमा आमन्त्रित केन्द्रीय सदस्य भूमिबहादुर (विश्व) गुरुङ, सांसदहरु रामबहादुर विष्ट, राजीवविक्रम शाह, तीर्थबहादुर लामा तथा पूर्वसांसदहरु बहादुरसिंह थापा र ललितजङग शाही रहेका छन् ।
त्यस्तै देवराज चालिसे र नगिना यादव पनि सदस्यमा मनोनयन भएका छन् । बस्नेतले समितिको आमन्त्रित सदस्यमा जनार्दन नेपाल, दीर्घबहादुर केसी र चेतनाथ खनाललाई मनोनयन गरेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०५:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार