भौतिकरुपमा एक वर्षपछि बस्यो भारतको मन्त्रिपरिषद् बैठक

बिहीबार, असार ३१, २०७८

नयाँ दिल्ली । भारतको मन्त्रिपरिषद््को बैठक एक वर्षपछि मात्रै भौतिकरुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिकरुपमै बसेको जनाइएको छ । मन्त्रिपरिषद्मा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक डाकेका हुन् । बैठकमा विषेश गरेर आगामी संसद् अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको सङ्घीय संसद्को बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ ।  प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाएको जनाइएको छ ।

भारतमा थप ३८ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् ।   सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए ।  त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ४१ हजार जना सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सङ्क्रमित अवस्थामै रहेकाको कुल सङ्ख्यापनि कम भएको छ । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २९ हजार ९४६ रहेको अधिकारीले जनाएका छन् ।  पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ६२४ जनाको मृत्यु भएको पनि मन्त्रालयले बुधबार जानकारी दिएको छ ।   भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड नौ लाख ४६ हजार ७४ पुगेको छ भने तीमध्ये तीन करोड एक लाख चार हजार ७२० जना सङ्क्रमणमुक्त भएका छन् । 
कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ४०८ पुगेको मन्त्रालयले जनाएको छ । 
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ५९ लाख ७३ हजार ६३९ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख १५ हजार ५०१ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ । 
त्यसैगरी भारतमा अहिलेसम्म ३८ करोड ७६ लाख ९७ हजार ९३५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३७ लाख १४ हजार ४४१ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।– एएनआई

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार