कोभिड अस्पतालमा आगलागी हुँदा इराकमा ४१ जनाको मृत्यु 

मंगलबार, असार २९, २०७८

बगदाद । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ । इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो । उक्त अस्पतालमा कोभिड १९ का विरामीहरुको उपचार गर्ने गरिन्छ । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमीटर टाढा रहेको छ । विशेषगरी कोभिडका विरामीहरुको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । नासियारा शहरको सो अस्पतालमा आगलागी भएको बताइएको छ । उक्त अस्पतालमा निर्माण गरिएको कोभिड १९ का संक्रमितहरुलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१जनाको ज्यान नै गएको बताइएको छ भने अरु केही विरामीहरु घाइते भएका छन् । अस्पतालमा आगो लागेपछि ठूलो संख्याका अग्नि नियन्त्रकहरु आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरुले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुन पुगेको बताइएको छ । इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीले सो आगलागीको कारण र यसले उत्पन्न गर्नसक्ने अवस्थाका बारेमा छलफल गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक नै बोलाएका छन् । त्यस्तै इराकको संसदका सभामुखले सोमबार राति ट्वीट गर्दै इराकी संसदको बैठकमा मंगलबार सो आगलागीका बारेमा छलफल गरिने कार्यक्रम बनाइएको जानकारी दिएका छन् । यहाँको प्रहरीले उक्त अस्पताल भवनमा के कति कारणले आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान थालेको छ । आगलागीमा परेर ज्यान जानेमा प्राय विरामीहरु नै परेका अनुमान गरिएको छ । यस विषयमा अस्पतालले केही बताएको छैन । अस्पतालले सो अस्पताल भवनमा कोभिड १९का संक्रमितहरुको उपचार केन्द्र राखिएको र त्यहाँ कोभिडका मात्र विरामीको उपचार गर्ने गरिएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार