सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । बेइजिङमा सोमबार मुसलधारे वर्षासहित आँधी आएपछि सबै विद्यालय तथा पर्यटककीय स्थलहरू बन्द गरिएका छन् । आँधीका कारण बेइजिङमा सयौं उडानहरू रद्द गरिएको छ । चीनको राजधानी शहर बेइजिङले यसवर्षको सबैभन्दा ठूलो आँधीबेहरी सामना गरेपछि अधिकारीहरूले स्थानीय बासिन्दालाई सुरक्षाका लागि घरमै रहन आग्रह गरेका छन् । शहरका केही क्षेत्रमा १०० मिलिमिटर वर्षाको पूर्वानुमान गरिएको छ । उड्डयन ट्याकर ‘भ्यारिफ्लाइट’ का अनुसार खराब मौसमका कारण बेइजिङका दुई विमानस्थल आउने र जाने करीब ७०० उडान रद्द भएका छन् । मौसमविद्हरूले बेइजिङ र छिमेकी क्षेत्रमा आइतबार दिउँसोदेखि सोमबार साँझसम्म मेघ गर्जनसहित ‘अत्यधिक वर्षा’ हुने चेतावनी दिएका छन् । शहरको उत्तरी जिल्लामध्ये एक जिल्लामा पहिरो गएको बताइएको छ र चाइना ग्लोबल टेलिभिजन (सिजीटिभी) ले चट्याङ, मेघगर्जन र व्यापक वर्षा भई अस्तब्यस्त बनेका सडकको तस्वीरसहित वर्षाका तस्बीर र भिडियो सम्प्रेषण गरेको छ । सिजिटिभिका अनुसार भारी वर्षाले सडक खाली गर्ने प्रयासलाई प्रभावित पारेको छ । बेइजिङका पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक विद्यालय सबै बन्द गरिएको छ । ‘ग्रेटवाल’ को बेइजिङ खण्डसहित लोकप्रिय पर्यटकीय आकर्षणका केन्द्रहरू पनि बन्द भएका छन् भने केही जिल्लामा ग्रामीण होमस्टेहरूसमेत तत्कालका लागि बन्द गरिएका छन् । आँधीबेहरीले छिमेकी तियानजिन शहरमा पनि असर पारेको देखाइएको छ । मौसम अधिकारीहरूले सिचुआन र शानसीका सहायक १४ नदीमा बाढीको चेतावनी दिएका छन् । वर्षायाममा बाढी सामान्य मानिने गर्छ गत वर्ष अगस्टमा भएको व्यापक बर्षा हुँदा हजारौँ मानिस विस्थापित बनेका थिए ।–एएफपी