सर्वोच्चको फैसला जनभावनानुसार : सभामुख

सोमबार, असार २८, २०७८

काठमाडौँ ।  सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, “फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको छ ।”  सभामुख सापकोटाले संविधानले केही मौलिक व्यवस्था गरेको र त्यसको स्पष्टसँग आजको फैसलाले व्याख्या गरेको समेत उल्लेख गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले उक्त पैmसला गरेको छ । सर्वोच्चको फैसलामा सात दिनभित्र प्रतिनिधिसभाको बैठकसमेत बोलाउन भनिएको छ ।  सभामुखले सर्वोच्चको फैसलाले नेपाली जनता र लोकतन्त्रको जीत भएको समेत टिप्पणी गरेका छन् । उनले भने, “यसको बहुआयामिक दूरगामी महत्व छ ।” जनप्रतिनिधिमूलक संस्थाको प्रमुख भएको नाताले पनि आफूले यस फैसलालाई स्वागत गर्दै आगामी दिनमा प्रतिनिधिसभालाई अझै जनमुखी र प्रभावकारी बनाउन लागिपर्ने उनको भनाइ छ ।  प्रतिनिधिसभा विघटनपछि पनि आफूले राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायीलगायत सबैसँग नियमित रुपमा छलफल गरेको उनले स्पष्ट पारेका छन् । सभामुखले अन्ततः राजनीतिक दल नै शक्तिको स्रोत भएको र उनीहरुले नै जनताको प्रतिनिधित्व गर्ने बताए ।–रासस

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार