सोसल मिडिया
Contact Us
युनिकोड
बाजुरा । साउन महिनाको पहिलो दिन, हरियाली र समृद्धिको प्रतीक मानिने साउने संक्रान्तिको अवसरमा बाजुराको प्रसिद्ध विरेखोला झरनामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सदरमुकाम मार्तडी नजिकै रहेको यस झरनाको प्रवद्र्धन र पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको देउडा कार्यक्रममा महिला र पुरुषहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वर्षातले थप सुन्दरता दिएको झरनाको फेदीमा विरे खोलाको निरन्तर बहावको संगतमा परम्परागत भेषभूषामा सजिएका स्थानीय महिला–पुरुषले देउडा गाउँदै रमाइलो गरे । कार्यक्रमस्थलको सौन्दर्य, स्थानीय पहिरन र देउडाको लयले मिलेर बाजुराको सांस्कृतिक अनुहारको सुन्दर झल्को प्रस्तुत गरिएको हो । कार्यक्रममा सहभागी भएका नरेन्द्र थापाले झरनालाई थप व्यवस्थित तरिकाले योजना अनुरुप भौगोलिक संरचना तथा होटलको राम्रो व्यवस्था भयो भने पर्यटक आकर्षित गर्दै आर्थिक रुपमा वृद्धि हुने बताए । कार्यक्रम बडीमालिका सामूदायिक विकास समाजको आयोजनामा, नगरपालिका, सामाजिक विकास कार्यालय तथा वडा नं. ६ र ८ को समन्वयमा सम्पन्न भएको हो । देउडियाहरूमा शंकर मल्ल, विष्णा विष्ट, पुने दानीलगायत चर्चित कलाकारहरूको जीवित प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो । कार्यक्रममा सहभागी पुरुषहरू परम्परागत दौरा सुरुवाल र कोट, महिलाहरू भने मखमली रातो चोली, कटन धोती र सेतो पटुकीमा सजिएर देउडाको तालमा नाच्दै रमाइलो गरेका थिए । पहाडी भेषभूषामा देखिएको समूहगत प्रस्तुतिले बिरेखोलालाई केवल झरना मात्र नभई संस्कृति र परम्पराको संगम स्थल बनाएको छ । कार्यक्रममा करिब एक हजारभन्दा बढी आन्तरिक पर्यटकको सहभागि भएको आयोजकले जानकारी दिएको छ । वर्षाको मौसम र हरियालीले झरनालाई थप आकर्षित बनाएको थियो । भीड व्यवस्थापन गर्न नगरपालिकाले प्रवेश शुल्क २० रुपैयाँ तोकेको छ र जसले पर्यटन व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास गरिएको छ । भौतिक पूर्वाधार बाटो, विश्राम स्थल, सूचना केन्द्र आदि निर्माण गर्न सकियो भने विरेखोला झरना बाजुराको प्रमुख पर्यटन गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ । यसले रोजगारी, स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । साउने संक्रान्तिमा आयोजित देउडा कार्यक्रमले विरेखोला झरनालाई केवल प्राकृतिक सौन्दर्यको स्रोत मात्र नभइ सांस्कृतिक सम्पदा, सामाजिक एकता र आर्थिक सम्भावनाको केन्द्रका रूपमा उजागर गरेको अनुमान गरिएको छ ।