सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा जुनसुकै मौसममा पनि वायु प्रदूषणको जोखिम रहने गर्छ । जाडोको समयमा तुवाँलो, चैत–बैशाखमा धुँवा धुलो र वर्खायाममा बाढीका कारण वायु प्रदूषणको जोखिम कायमै छ । हालै विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार वायु प्रदूषणकै कारण नेपालमा मानिसको मृत्यदर बढी रहेको छ । प्रतिवेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिमको कारण भएको देखाएको हो । ‘काठमाडौं उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटस्पट हुन्, जसमा विगत एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन । वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउँछ र वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु निम्त्याउँछ,’ प्रतिवेदनमा भनिएको छ । वायु प्रदूषण नियन्त्रणका लागि क्षेत्रीय र बहु–क्षेत्रीय स्तरबाट प्रयासहरु हुन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ । वायु प्रदूषणलाई सम्बोधन गर्न कार, मोटरसाइकल, बस र ट्रकलगायत सवारी साधनलाई विद्युतीकरण गर्न आवश्यक रहेको र सवारी साधन निरीक्षण एवम् मर्मत प्रणालीलाई सुदृढ पार्दै सडकको धुलो घटाउनुपर्नेमा विश्व बैंकले जोड दिएको छ । तर वायु प्रदूषण नियन्त्रणमा सरकारको पर्याप्त तयारी छैन । मानव स्वास्थ्यमा नै प्रतिकूल असर परिरहेका बेला सरकारी तयारी फितलो भएको गुनासो बढ्दो छ । चिकित्सकहरूका अनुसार वायुप्रदूषणले मुख्यतः छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण बढाउने गरेको छ साथै आँखा र छालासम्बन्धी समस्याहरू पनि निम्तिन सक्ने अनुमान गरिन्छ । यस्ता मानव स्वास्थ्य सम्बन्धि जोखिमका कारण मृत्युदर बढिरहेको प्रतिवेदनहरू सार्वजनिक हुने गरेका छन् । वातावरणविद् भुषण तुलाधरले वायु प्रदूषणले नेपालीहरूको औसत आयु घट्दै गइरहेको बताएका छन् । उनले नेपालमा वायु प्रदूषणको प्रमुख स्थान भनेको घरको भान्सा रहेको बताए । उनले मनसुनको समयमा वायु प्रदूषण घट्छ र पानीको मात्रा बढ्ने सम्भावना भएकाले हैंजा, झाडापखाला जस्ता रोगहरू लाग्ने सम्भावना रहेको बताएका छन् । उनले यो मनसुनमा चाँहि पानीको प्रदूषण र विपत्तीका घटनाहरूले गर्दा जोखिम बढ्ने गरेको बताए । उनले भने, ‘मनसुन भएकाले वायु प्रदूषण केही कम हुन्छ । किनभने पानीले मौसम सफा बनाउँछ । यद्यपी, केही ठाउँमा प्रदूषण कायम नै छ । नेपालमा सबैभन्दा बढी प्रदूषित ठाँउ कुन हो भनेर खोज्ने हो भने, नेपालको आधाजति घरको भान्छाहरू नै हुन् । हरेक समयमा दाउरा, गुइँठा प्रयोग गर्ने गरेका छन् । त्यसले प्रदूषण बढाइरहेको छ । मनसुनको समयमा वायु प्रदूषण घट्छ र पानीको मात्रा बढ्ने सम्भावना हुन्छ । जसले गर्दा हैंजा, झाडापखाला जस्ता रोगहरू लाग्न सक्छन् । प्राकृतिक प्रकोपका कारणपनि रोगहरू आउन सक्ने सम्भावना हुन्छ । त्यसैले यो मनसुनमा चाँहि पानीको प्रदूषण र विपत्तीका घटनाहरूले गर्दा जोखिम बढ्ने गर्छ ।’ उनले विश्वव्यापी रुपमा नै प्रदूषण नै मानिसको जनस्वास्थ्यको सबैभन्दा प्रमुख चुनौति रहेको बताउँदै नेपालमा वायु प्रदूषण प्रमुख समस्याको रुपमा आइसकेको दाबी गरे । ‘मौसम अनुसारको वायु प्रदूषणले मानिसको स्वास्थ्यमा एकदमै ठूलो जोखिम बढ्ने गरेको छ । विश्वव्यापी रुपमा नै मानिसको जनस्वास्थ्यको सबैभन्दा प्रमुख चुनौति भनेर भनिएको छ । विश्व स्वास्थ्य संगठनले नै मानिस मृत्युको प्रमुख कारण प्रदूषण हुने गरेको भनेको छन्,’ उनले भने । विश्व बैंकको प्रतिवेदनले औंल्याएका विषय यथार्थ रहेको बताउँदै उनले सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्नुका साथै कृषि गर्दा आउने अवशेषहरूलाई ध्यान दिनुपर्ने उनले बताएका छन् । विश्व बैंकले प्रतिवेदनले देखाए अनुसार हामी एकदमै धेरै गम्भीर हुन आवश्यक रहेको उनले जानकारी दिए । उनले वायु प्रदूषणले स्वास्थ्यमा मात्र होइन अर्थतन्त्रमा पनि गम्भीर असर पार्ने प्रति ध्यानाकर्षण गराए । ‘विश्व बैंकले निकालेको अध्ययन प्रतिवेदन सही छ । अरु अरु प्रतिवेदनले पनि त्यस्तै रिपोर्टहरू निकालेको छ । काठमाडौ उपत्यका, जहाँ स्रोत–साधनका मात्रा बढी भएकाले प्रदूषण बढी छ । उपत्यका भएकाले पनि त्यो प्रदूषण गुम्सिएर बसेको हुन्छ । तराईमा पनि प्रदूषणको स्रोतहरू धेरै छन् । बाहिरबाट सँगै आएका सवारी साधनहरूले पनि धेरै असर गरेको छ । खेती गर्दा जुन अवशेषहरु आउँछन् त्यसलाई जलाउने गरिएकाले पनि त्यहाँ बढी प्रदूषण हुने गरेको छ । विश्व बैंकले जुन ३.४ बर्षले औसत घटाउँछ भन्ने प्रतिवेदन निकालेको छ त्यो सही छ । त्यसलाई गम्भीरतापूर्वक लिन जरुरी छ,’ उनले भने । उनले प्रदुषणका कारण बालबालिकाको मस्तिष्कमा समेत गम्भीर असर गरेको बताए । उनले विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्यो भने प्रदूषण कम हुने दाबी गरे । ‘बालबालिकाको मस्तिकमा समेत गम्भीर असर पर्छ । त्यसले गर्दा बालबालिकाको मस्तिष्कमा गहिरो असर परेर पढ्न नसक्ने समेत हुन्छ । पर्यटन क्षेत्रमा असर गर्ने हुँदा अर्थतन्त्र पनि घट्छ । सबैभन्दा पहिला हामीले बुझनुपर्ने के हो भने विश्वका प्रदूषित सहरहरूमध्ये सबैभन्दा धेरै प्रदूषित सहरमा पर्छौ । त्यसलाई बुझेर त्यसको समस्याको समाधान खोज्ने हो भनेदेखि सबै मिल्दै जान्छ । जस्तै विद्युतीय गाडीको प्रयोग गर्ने, इट्टाभट्टहरूमा कोइलाको ठाँउमा वायु प्यालेटहरू प्रयोग गर्ने गरियो भने वायु प्रदूषण कम हुन सक्छ,’ उनले भने । सरकारले प्रदूषणलाई विशेष प्रथामिकतामा राख्नुपर्ने र योजनाबद्ध तवरले योजना बनाएर अघि बढ्नपर्ने बताएका छन् । उनले सरकारसँग जनताबाट उठाएको प्रशस्त पैसा छ तर त्यो खर्च गर्न नसकेको बताए । यता, वन तथा वातावरण विभागका वातावरण निरीक्षक प्रकाश केसीले वायु प्रदूषणको चाप प्रि–मनसुन अथवा चैत–बैशाख हुने गरेको औंल्याए । उनले अन्तर्राष्ट्रिय तवरबाट प्रदूषणलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सहरी क्षेत्रमा जनसंख्या बढी हुने भएकाले अलि बढी व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै स्थानीय तहदेखि नै यसलाई महत्व दिनुपर्ने उनले बताए । सरकारले पनि राष्ट्रिय स्तरमा नै योजना बनाएर अघि बढ्नुपर्ने भएकाले वायु प्रदूषण न्यूनिकरण गर्न लागेको समेत बताए । सवारी र उद्योगबाट हुने प्रदूषण निरन्तर नै रहेको भएता पनि मनसुनको समयमा फायरिङ्ग इभेन्ट कम हुने भएकाले प्रदूषण अलि कम हुने बताए । उनले अहिलेको समयमा घरैबाट निस्कने फोहोरहरू धेरै रहेको औंल्याउँदै वायु प्रदूषण बढ्दै गयो भने जुनसुकै मौसममा पनि स्वास्थ्यमा असर गर्ने उनले बताए । उनले भने ‘मनसुनका बेला वायु प्रदूषणको हिसाबले मौसम सफा रहन्छ । पानीले प्रदूषणलाई पखाल्ने काम गर्छ । सवारीबाट हुने उद्योगबाट हुने निरन्तर नै छ त्यो बाहेक मनसुनको समयमा फायरिङ्ग इभेन्ट कम हुने भएकाले पनि प्रदूषण अलि कम हुन्छ । यो बेला भनेको घरैबाट निस्कने फोहेरहरू मात्र हो । तर पानीले प्रदूषण पखाल्ने भएकाले मौसम सफा रहन्छ । वायु प्रदूषण बढ्दै गयो भने नेपालमा जुनसुकै मौसममा पनि स्वास्थ्यमा असर गर्छ । स्वास प्रश्वासमा अलि बढी असर गर्छ । तर जुनसुकै मौसम स्वास्थ्यका लागि जोखिमपूर्ण नै छ ।’ सहरी क्षेत्रमा जनसंख्या बढी हुने भएकाले वायु प्रदूषणको अवस्थामा बढी व्यवस्थित गर्न पर्ने देखिन्छ र स्थानीय तहमा पनि व्यवस्थापन गर्नपर्ने उनको तर्क छ । सरकारले राष्ट्रिय स्तरमा नै योजना बनाएर अघि बढिरहेकाले वायु प्रदूषण विस्तारै न्यूनीकरण हुँदै जाने बताए । आगलागी र कृषिजन्य अवशेषलाई व्यवस्थापन गर्न लागिरहेको उनले बताए । ‘घरभित्रबाट निस्कने प्रदूषणलाई रोक्न सुधारिएको चुलोको व्यवस्था गर्न वातावरण विभाग नलागे पनि सरकारका अरु युनिटले काम गरिरहेका छन्,’ उनले भने । उनले यस वर्ष प्रदूषण कम गर्न प्रधानमन्त्री तहदेखि नै सक्रियता जनाएकाले विश्व बैंकको प्रतिवेदनका आधारमा अघि बढ्ने बताए । तर विभागले वर्षौंअघि सार्वजनिक गरेको प्रतिवेदनप्रति वेवास्ता भएको उनको गुनासो छ । ‘विश्व बैंकले ल्याएको तथ्यांक विश्व स्वास्थ्य संगठनले हेर्छ । प्रदुषणका कारण स्वास प्र्रस्वासमात्र नभइ हृदयघात हुने, आयु घट्ने जस्तो समस्या पनि आउँछ । बच्चा, बुढा, गर्भवती महिला शारीरिक रुपमा कमजोरहरूलाई छिटो असर गर्छ’, उनले अगाडि भने,‘बच्चाको आमाले भान्छामा बस्दा विषेश ध्यान दिनुपर्छ । प्रदूषण न्यूनिकरणको लागि टोक्नोलोजिहरूलाई बढी प्रथामिकता दिनुपर्छ ।’ उनले नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्नुपर्ने बताए ।