सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ कोे पूँजीगत खर्च भन्दा ०८१/०८२ मा पूँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी वर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए । ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताँउदै उनले ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने जानकारी दिए । पूँजीगत खर्च सोचेअनुसार गर्न नसक्नुमा केही व्यवहारिक कठिनाई गरेको औल्याउँदै उनले भने, ‘असारको १० गते ऐन बमोजिम ७ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेका छौँ । यो पास भइसकेको छैन । मलाई जहाँसम्म लाग्छ ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने छौँ । विगतको कुरा गर्दा आर्थिक वर्ष ०८१/०८२ मा खर्च लगभग ६५ प्रतिशत भयो कि भन्ने छ । तर त्यसमा चालु खर्च अलि बढी नै हुन्छ । लगभग ९० प्रतिशतको हाराहारीमा पुग्छ होला ।’ ०८०/८१ को पूँजीगत खर्च ८२ प्रतिशत रहेको र यस वर्ष भने कम भएको उनले बताए । ‘पूँजीगत खर्च कम हुनुमा धेरै मल्टिपल फ्याक्टस्हरू पनि छन् । सरकारले अन्तिम कालखण्डमा समानिकरण गर्दा अनुदान कम गरिदिएकाले धेरै अप्ठ्यारोमा पारिदिएको थियो । गत साल असोज १० र ११ गते परेको वर्षाले नि समस्यामा परेको थियो । ललितपुर महानगरपालिकाले जुन रफ्तारमा काम गरिरहेका थियौँ विचमा अख्तियार पनि लागेको थियो । त्यसले पनि समस्या बनायो’, उनले भने । विगतका वर्षमा बाढी पहिरो र प्राकृतिक विपत्ती जस्ता घटनाले पूँजीगत खर्च बढाउन नसकेको बताउदै उनले भने, ‘पूँजीगत खर्चचाहीं विगतको वर्षमा भन्दा यस वर्ष खासैहोला जस्तो लागेको छैन । सबैभन्दा बढी असर परेको भनेको प्राकृतिक विपत्तिले नै हो । काम गर्ने सिलसिलामा त्यसलाई गणना गरिएन । प्रयास त धेरै नै गरेका हौं ।’ आर्थिक वर्ष ०८०/०८१ को कुरा गर्ने हो भने राजश्व संकलन महानगरले प्रक्षेपण गरेको भन्दा ८ प्रतिशतले बढेको उनले बताए । यसलाई आगामी वर्ष थप सुधार गर्ने उनले प्रतिवद्धता जनाए । ‘यो वर्षको राजस्व संकलन गत वर्षको जस्तो हुने देखिएन । भवन अभिलेखिकरण गरेर मनग्य राजश्व उठ्छ भन्ने ठम्याई थियो । तर अभिलेखिकरण गर्ने कुरामा कानुनको दफ–दफा अगिंकार गर्नुपर्ने रहेछ । त्यसको प्रक्रियामै समय लाग्यो । तर अब हामीले भवन अभिलेखिकरण कानुन ल्यायौं । त्यसले पनि हाम्रो बजेट सक्यो । अब वर्खे अधिवेशनमा भवन अभिलेखिकणको म्याद थप्ने छौँ र राजश्व संकलनमा बृद्धि गर्नेछौं,’ उनले भने । ललितपुर महानगरपालिकामा नयाँ पर्यटकीय स्थलहरूको विकास गर्ने सन्दर्भमा काम भइरहेको पनि उनले बताए । स्मार्ट सिटी बनाउने काम भने धेरै अघि बढेको उनको भनाइ थियो । ‘ललितपुर महानगरपालिकामा नयाँ पर्यटकीय स्थलहरू बनाउने काम जारी छ । वातावरण सफा बनाउने गरी इभी सवारी साधनहरूलाई प्राथमिकता दिएका छौं । इन्टेलिजेन्स ट्राफिक लाइट महानगरपालिका भित्र २५१ स्थान राख्न पर्छ भन्ने हाम्रो अध्ययनको प्रतिवेदनमा रहेको छ । अहिले केही स्थानमा राखेका छौँ । यसले केही सहजिकरण भएको छ । त्यसैले हामी हौसिएका छौं । आउँदो आर्थिक वर्षमा अधिकांश स्थानमा लाइट विस्तार गरिसक्नेछौं । चक्रपथको ७.१ प्रतिशत सडकको केही भाग ललितपुर महानगपालिका भित्र पर्ने भएकाले त्यो भाग अलि अध्याँरो रहेको छ । दशैँसम्म काम सकिनेगरी स्मार्ट बत्ति जडान गर्न लागेको छौं’ उनले भने ।