सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको बुधबार निधन भएको छ । ९८ वर्षीय उनको मुम्बईमा निधन भएको हो । उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना गरिएको थियो। हालैका महिनाहरूमा उनको स्वास्थ्यस्थिति पटकपटक बिग्रिएको थियो। कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । उनीहरूका सन्तान छैनन् । कुमारले सन् १९४४ मा ज्वारभाटा नामक चलचित्रबाट अभियन यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो । व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए । उनको जन्म सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो । हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो । आफ्ना केही मुस्लिम सहकर्मीहरूजस्तै उनले हिन्दी चलचित्र उद्योग प्रवेश गर्दा हिन्दू नाम दिलीप कुमार राखेका थिए । कुमारको जीवनी लेखेका लर्ड मेघनाथ देसाईले उनलाई प्रख्यात हलिउड अभिनेता मार्लन ब्रयान्डो वा इटलीका मार्चेल्लो मास्त्रोयान्नीसँग तुलना गरेका छन् । उनले भनेका छन्, 'दिलीप कुमार भारतीय चलचित्रले स्थापित गरेका सर्वश्रेष्ठ अभिनेता थिए । उनीभन्दा प्रख्यात अभिनेता अरू पनि छन् तर उनीभन्दा कुशल अभिनेता भने छैनन् ।' 'उनी आफ्नो समयका सबैभन्दा अब्बल ुट्रयाजिकु अभिनेता थिए तर हास्य विधामा पनि सफल भए' उनले भने । मेला, नयाँ दौर, गङ्गा जमुना, देवदास र मुग़ल ए आज़म जस्ता सफल चलचित्रबाट उनले थुप्रै प्रशंसक कमाएका थिए ।